Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमाले नेता एवं पुर्वमन्त्री गुरुङ जब कांग्रेसको विजय जुलुसतर्फ लम्किए..

चरिकोट - वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत भीमेश्वर नगरपालिकाको अन्तिम मतपरिणाम शुक्रवार विहान सार्वजानिक भयो । निर्वाचनको नतिजा मिश्रित खालको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका ईश्वर मानन्धर र उपमेयरमा एमालेका कमला बस्नेत विजयी भए । ९ वटा वडा मध्ये एमालेले ५ र कांग्रेसले ४ वटा वडा आफ्नो पक्षमा पार्न सफल भयो ।

शुक्रवार विहान जब निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भयो तब दोलखा सदरमुकाम चरिकोटमा छुट्टै उल्लास र रौनकता छायो । नाराबाजी, स्थानीय बाजागाजा, झाँकीसहित बजारमा निस्किएको कांग्रेस र एमालेको छुट्टाछुटै र्यालीले चरिकोटमा वातावरण उल्लासमय देखिन्थ्यो । आफ्ना उम्मेदवार विजयको खुसियालीमा उनीहरुले बजारमा विजयर्याली निकलेका हुन् । एमालेको विजयर्याली बजारको विभिन्न भाग परिक्रमा पछि सातदोवाटो स्थित सपिङ कम्प्लेक्स परिसरमा कोणसभामा परिणत भएको थियो ।

एमालेको कोणसभामा पुर्वमन्त्री समेत रहेका एमाले पोलिट व्युरो सदस्य पार्वत गुरुङ लगायतका नेताहरु सहभागि थिए ।  कोणसभा सकिनै लाग्दा कांग्रेसको विजयर्याली सातदोवाटो निस्कियो । कांग्रेस कार्यकर्ताले झन चर्को आवाजमा झ्याली झ्याम्टा, बाजागाजा र नाराबाजी गर्न थाले । कांग्रेसको र्यालीमा ‘देखिस् क्यारे एमाले, जनताले भोट कहाँ हाले’ जस्ता उत्तेजित नाराबाजी गर्दै कार्यकर्ताहरु उफ्रिरहेका देखिन्थे ।

एमाले कार्यकर्तापनि के कम चर्को स्वरमा नारावाजी गर्न थाले । जब कांग्रेस र्याली नजिकै आईपुग्यो, एमाले नेता एवं पुर्वमन्त्री गुरुङ त्यसतर्फ लम्किए..। कांग्रेसका विजयी उम्मेदवारलाई खदा ओढाएर बधाई शुभकामना व्यक्त गरे । उनीसँगै अन्य नेता र विजयी उम्मेदवारहरुपनि एकैठाउँ जम्मा भए । अनी दुबै पार्टीका नेता र उम्मेदवारहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भयो ।

वाजागाजा बजिरहेपनि चर्को नारावाजी शान्त भयो । टाढाबाट हेर्दा दुवै पार्टीका र्याली मिसिएजस्तै देखिन्थ्यो । यसरी प्रतिस्पर्धी दलहरुको र्याली भिडन्त नभई आपसमा सद्भावमा परिणत भयो । सद्भाव साटासाटपछि दुबै पार्टीका र्याली आ–आफ्नो गन्तव्यतर्फ लागे । 

गुरुङ एमाले दोलखाको अध्यक्ष हुँदा कांग्रेसका तत्कालिन सभापति स्वर्गिय सुशील कोईरालालाई पार्टी कार्यालय निम्त्याएर स्वागत गर्दा चर्चाको विषय बनेको थियो । दलहरुबीच बैमनस्यता भन्दा आपसी सद्भावको वातावरण बन्दा स्थानीय खुसी व्यक्त गर्छन् ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update