चरिकोट - निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखामा धमाधम शंकास्पद व्यक्तिहरु पक्राउ पर्न थालेका छन् । जिल्लाको वैतेश्वर प्रवेश गरेका २ जना गैर मतदातालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यसअघि तामाकोसी गाउँपालिकाको झुलेबाट शंकास्पद १० जना बाहिरका युवाहरुलाई मोटरसाईकल सहित पक्राउ गरेको थियो ।
जिल्ला बाहिरबाट आएका थप २ जनालाई वैतेश्वर गाउँपालिकाको बुस्तीबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरु मतदान बिथोलेर बुथ कब्जा गर्न आएको हुनसक्ने स्थानीयको आशंका छ । यसैबीच दोलखा प्रवेश गर्न लागेका तीन दर्जन बढी जिल्ला बाहिरका ३८ जना युवाहरुलाई प्रहरीले सिमानाका खरिढुङ्गाबाट केही समय नियन्त्रणमा लिएर फर्काईदिएको छ ।
उनीहरु खरिढुङ्गा नाका हुँदै पाँच वटा स्करपियो गाडिमा जिल्ला प्रवेश गर्न लागेका थिए । दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक गंगा पौडेलले उनीहरु जिल्लाबासी नभएको पाईएपछि गएराती नै फकाईएको जानकारी दिनुभयो ।
ती युवाहरुले युवाहरुले भने आफुहरु कालिञ्चोक घुम्न आएको दाबी गरेका थिए । निर्वाचनको समयमा उनीहरुले अन्य गतिविधि गर्नसक्ने आशंकामा फर्काईएको प्रहरीले जनाएको छ । आईतबार राती झुलेबाट पक्राउ परेका १० जना शंकास्पद युवाहरुलाई पनि प्रहरीले फिर्ता पठाएको जनाएको छ ।