चरिकोट – नेकपा एमालेले दोलखामा जिल्लाव्यापी शक्ति प्रदर्शन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले जिल्लाभर व्यापक जनताको उपस्थितिसहित शक्ति प्रदर्शन गरेको हो । एमालेले आज जिल्लाको भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिका केन्द्रीकृत जनसभाको आयोजना गरेको छ भने अन्य नगर तथा गाउँपालिकामा भोली जनसभा गर्ने तयारी छ ।
सदरमुकाम चरिकोटमा आयोजना गरिएको भीमेश्वर नगरस्तरिय जनसभामा ९ वटै वडाहरुबाट ठुलो संख्यामा कार्यकर्ता र जनसमुदायहरुको सहभागिता देखिएको थियो । कार्यक्रम सुरु हुनुभन्दा अगाडि झाँकी, बाजागाजा, नाराजुलससहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।
कार्यक्रमलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य आन्नदप्रसाद पोखरेल, पोलिटव्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङ, केन्द्रीय सदस्य रचना खड्का लगायतका जिल्लाका शिर्ष नेता र उम्मेदवारहरुले सम्बोधन गरेका छन । सम्बोधन गर्दै उनीहरुले दोलखाको सबै स्थानीय तहहरुमा जुनसुकै मुल्य चुकाएर भएपनि एमालेले विजय हासील गर्ने दाबी गर्नुभयो ।
यसैगरी जिल्लाको बैतेश्वर गाउँपालिकामा पनि आज नेकपा एमालेले चुनावी सभा आयोजना गरेको छ । गाउँपालिकाको मैनापोखरी बजारमा चुनावी सभाको आयोजना गरिएको हो । चुनावी सभामा ठुलो संख्यामा गाउँपालिकाकाका नागरिकहरुले सहभागिता जनाएका थिए । एमालेले आजै बिभिन्न स्थानीय तहका वडाहरुमा पनि चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।