Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
थामी समुदायबाट उपाध्यक्षका लागि दुई जना चुनावी मैदानमा, पिछडिएको समुदायलाई सत्तामा पुर्याउने अबसर 

चरिकोट – पिछडिएको थामी समुदायबाट दोलखामा उपाध्यक्ष पदका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको विगु गाउँपालिकाबाट देविका थामी र कालिञ्चोक गाउँपालिकाबाट कविता थामीले उपाध्यक्षका लागि चुनाव लड्दैछन् । लामो समय राजनीतिक र सामाजिक कार्यमा सक्रिय उनीहरुले यो स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदको लागि टिकट पाएका हुन् । उनीहरु दुबै जनालाई नेकपा एमालेले उम्मेदवार बनाएको हो ।

उपाध्यक्षका उम्मेदवार देविका महिला अधिकार संजाल, नेपाल थामी समाज लगायत बिभिन्न संघ संस्थाको जिम्मेवारीमा रहेर सामाजिक कार्यमा सक्रिय महिला नेतृ हुन् । लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय उनलाई पछिल्लो समय जिल्ला कमिटी सदस्यको जिम्मेवारी छ । 

यस्तै कालिञ्चोक गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएकी कविता पनि लामो समयदेखि विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्यमा सक्रिय महिला नेतृ हुन् । उनी अखिल नेपाल महिला संघ कालिञ्चोक गाउँपालिकाको सचिवको जिम्मेवारीमा छिन् । जिल्ला स्थित अन्य ठुला राजनीतिक दलहरुले थामी समुदायलाई उम्मेदवारका रुपमा अघि सारेका छैनन् ।

एमालेले थामी र महिला समावेशीतालाई मध्येनजर गर्दै उनीहरुलाई टिकट दिएको जनाएको छ । दुबै गाउँपालिकामा थामी समुदायको जनघनत्व रहेको छ । एमालेले टिकट दिएपनि दुबै जनालाई विशेषगरी थामी समुदायको तर्फबाट स्थानीय सरकारमा थामी समुदायको प्रतिनिधित्व गर्ने अवसरको रुपमा यसलाई उपयोग गर्नुपर्ने आवाज उठेको छ । थामी अगुवा र बुद्धिजिवीहरुले उनीहरुलाई विजयी गराउन सबै थामी समुदाय एकजुट हुनुपर्ने बताएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update