चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकामा सत्तारुढ गठबन्धनका स्थानीय नेता कार्यकर्ताहरुले निर्वाचन प्रभावित बनाउन मतदाताको परिचय पत्र र नागरिकता संकलन गरिरहेको पाईएको छ । यही वैशाख ३० गते हुने निर्वाचनमा लाईनमा बस्न नपर्ने र सिधै भोट हाल्ने व्यवस्था मिलाउने आसवासन दिँदै उनीहरुले मतदाता परिचय पत्र र नागरिकता संकलन गरेका हुन् ।
स्थानीयका अनुसार मताधिकारको दुरुपयोग गर्ने उदेश्यले कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ स्थित चप्लेटी, चिउरीखर्क र डाँडाखर्क टोलका स्थानीयबासीबाट नागरिकता र मतदाता परिचयपत्र संकलन गरिएको हो । घरमा मुख्य व्यक्ति नभएको समयमा बिभिन्न असवासन देखाई मतदाता परिचयपत्र र नागरिकता संकलन गरिएपछि स्थानीयले प्रहरीकोमा उजुरी दिएका छन् । मतदाता परिचयपत्र र नागरिकता फिर्ता नपाएपछि स्थानीय भक्त बहादुर थामी, बरुना राना मगर, जानुका थामी, दिपेश थामी, कुमार थामी, लिलावती थामी लगायतले प्रहरीकोमा उजुरी दिएका हुन् ।
स्थानीय भक्त बहादुर थामीले घरमा आफु नभएको समयमा वुवा आमा र श्रीमतीलाई गाउँपालिकाको कर्मचारी हुँ भन्दै नागरिकता र परिचयपत्र लगिएको र पछि थाहा पाएर फिर्ता माग्दा धम्की दिईएको बताए । ‘परिचयपत्र फिर्ता माग्दा दिपक खुलाले पठाएको हो, र लिँदा कसैलेपनि केही भने म भूपु प्रहरी असई हो मैले सबै प्रहरी प्रशासन किनिसकेको छु, मेरा हातमा प्रहरी छन् भनी धम्कि दिएको हुँदा उनीहरुमाथि छानविन गरी कारबाही गर्न माग गर्दछौं, उजुरीमा उल्लेख गरिएको छ ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दिपक खुलालको नेतृत्वमा निर्वाचन प्रभावित पार्न यस्तो कार्य गरिएको स्थानीयले जानकारी दिएका छन् । उजुरी परेपछि केहीको नागरिकता र परिचय पत्र फिर्ता गराईएको बुझिएको छ । ईलाका प्रहरी कार्यालय सिंगटीको प्रहरी निरीक्षक सानु तामाङले मतदाता परिचयपत्र र नागरिकता संकलनबारे जानकारी आएपछि दुबै पक्षलाई राखेर समस्या समाधान गरिएको बताए ।