चरिकोट - निर्वाचन प्रभावित पार्न दोलखाको तामाकोसी गाउँपालिका–२ झुले प्रवेश गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही वैशाख ३० गते हुने निर्वाचन प्रभावित बनाउन गैर मतदाता प्रवेश गरेको पाईएपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
निर्वाचन बिथोल्ने उदेश्यका साथ ६ वटा मोटसाइकलमा उनीहरु प्रवेश गरेका थिए । गैरमतदाता शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाईएको स्थानीयले बताएका छन् । उनीहरुले प्रयोग गरेको ६ वटा मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार मतदाता त्रसित पार्न र बुथ कब्जा गर्ने उदेश्यले उनीहरु झुले प्रवेश गरेका हुन् । निर्वाचन बिथोल्न शंकास्पद रुपमा गाउँ प्रवेश गर्न लागेका युवालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुलाई कसले प्रयोग गरेर भित्र्याएको भन्ने बारेमा अुनुसन्धान भइरहेको छ । निर्वाचन बिथाल्न र उम्मेदवारलाई धम्की दिनका लागि बाहिरबाट गैर मतादाता युवा प्रवेश गर्न लागेको आशंकामा जिल्लाभरका नाकाहरुमा थप कडाइ गरेर जाँच र खानतलासी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
तामाकोसी गाउँपालिका स्थित विभिन्न मतदान केन्द्रहरुमा यसअघिका निर्वाचनमा पनि गैर मतदाता प्रवेश गरी निर्वाचन प्रभावित गर्ने गरेका छन् ।