Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आचारसंहिता बिपरित प्रधानमन्त्री र मन्त्रीहरु चुनावी दौडाहमा

काठमाण्डौं - प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् ।

सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हेलिकोप्टरमा देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता प्रकाशशरण महत पनि सवार थिए । स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को दफा ४ क मा ‘कुनै सार्वजनिक निकाय वा परियोजनाका स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख छ । तर, प्रधानमन्त्रीले उक्त दफाविपरीत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् ।

बुटवलको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शनिबार बिहान पौने १२ बजे बुटवलस्थित नेपाली सेनाको २२ न. वाहिनीमा उत्रिएका थिए । त्यहाँ उनलाई गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणसहितका स्थानीय नेता र सुरक्षाकर्मीले स्वागत गरे । प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरबाट उत्रिएफछि कार्यक्रमस्थलसम्म जान स्थानीय कार्यकर्ताको सेतो कलरको ल्यान्डत्रुजर गाडी चढेर थिए ।

कार्यक्रममा झन्डै १ घण्टा बिताएका उनले ८ मिनेट भाषण गरे र त्यही हेलिकोप्टरमा तनहुँ पुगे । निर्वाचन आचारसंहिताले सरकारका अधिकारी र स्थानीय तहमा राजीनामा नदिएका जनप्रतिनिधि आफू उम्मेदवार भएको अवस्थामा बाहेक अन्य अवस्थामा दलको चुनाव प्रचारप्रसारमा सहभागी हुन पनि रोक लगाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update