Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा गठबन्धनका कार्यकर्ताले सुरु गरे निर्वाचन अशान्त बनाउने प्रयास

चरिकोट - दोलखामा सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनलाई अशान्त बनाउने प्रयास सुरु गरेको छ । जिल्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपुर्ण हुनेमा चिन्ता व्यक्त भैरहेका बेला गठबन्धनका कार्यकर्ताहरुले शनिवार एमाले कार्यकर्तामाथि आक्रमणको प्रयास गरेका छन् ।

जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्वुमा एमाले कार्यकर्ताहरुले चुनावी प्रचार प्रसार अभियान अन्तर्गत घरदैलो गरिरहँदा गठबन्धनका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेपछि सामान्य झडप समेत भएको छ । झडपमा एक जना एमाले कार्यकर्ता घाईते भएका छन् । एमालेको तर्फबाट गौरीशंकर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार मिंगुर शेर्पाको गाडीका चालक रहेका भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाँकुरीडाँडाका प्रविन श्रेष्ठ घाईते भएका हुन् ।

गठबन्धनका कार्यकर्ताको ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । स्थानीय गोमटा गाउँमा घरदैलो कार्यक्रम गरी नजिङ गाउँ हुँदै मार्बुतर्फ फर्कने क्रममा आफुहरुमाथि घरेलु हातहतियारसहित आक्रमणको प्रयास भएको अध्यक्षका उम्मेदवार शेर्पाले बताए । उनका अनुसार बाहिरका युवाहरु ल्याएको भन्दै गठबन्धनका कार्यकर्ताहरुले बिवाद झिकेका थिए ।

बिवाद सामान्य भएपछि आ आफ्नो गन्तव्यतर्फ लाग्ने क्रममा गठबन्धनका कार्यकर्ताहरुले एक्कासी ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिए । एमालेबाट वडा अध्यक्षका उम्मेदवार शेर्पाले आईतवार आयोजना गरिएको चुनावी कार्यक्रम विथोल्ने उदेश्यले भवि गुरुङ, टिका गुरुङ, सुदिप गुरुङ लगायतका युवाहरुको समुहले आक्रमण गरेकाले उनीहरु बिरुद्ध ईलाका प्रहरी कार्यालयमा जाहेरी दिने बताए ।

थप घट्ना हुन नदिन प्रहरीको टोली खटाईएको छ । ईलाका प्रहरी कार्यालय सिंगटीले सामान्य झडपको स्थिति देखिएको र दुबै पक्षलाई बोलाई समस्या समाधानको प्रयास भैरहेको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update