चरिकोट - नेकपा एमाले पोलिट व्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङले जनतालाई भ्रममा पारेर चुनाव जित्ने दिन सकिएको बताएका छन् । अहिलेको निर्वाचनमा पनि जनतालाई झुठा आसवासन र भ्रममा पारेर निर्वाचन जित्ने सपना सत्तारुढ गठबन्धनले देखिरहेको भन्दै उनले त्यो दिवासपना मात्र हुने बताए ।
नेकपा एमालेले गौरीशंकर गाउँपालिका वडा नम्बर ५ मा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले विकास बिरोधीहरुले चुनावको मुखमा विकासप्रेमी भनेर दुष्प्रचार गरिरहेको र त्यसबाट जनता सचेत हुनुपर्ने बताए । रातारात भ्रम छरेर चामल बाँड्ने र फर्जी कागज बनाएर उधारो विकास देखाएर जनतालाई भेडाबाख्रा जस्तो किनबेच गर्न खोज्नेहरुलाई जनताले चिनिसकेको उनको भनाई छ ।
आफ्नो जिवन जनताको सेवा र विकासमा समर्पित रहेको उल्लेख गर्दै उहाँले निर्वाचन जितेर देखाउन चुनौती समेत दिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा जनताको हत्या गर्नेहरुसँग विकास गर्ने हैसियत नभएको टिप्पणी गर्दै उनले जनतालाई भ्रम छर्ने काम नगर्न चेतावनी दिए । जिल्लाका विभिन्न स्थानमा मतदातालाई प्रभावमा पार्न खाद्यन्न, पाईप लगायतका सामान बाड्ने काम भैरहेको गुनासो आइरहेका बेला नेता गुरुङको यस्तो भभनाई आएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट गौरीशंकर गाउँपालिका अध्यक्षका उम्मेदवार जंग गुरुङले आफुहरुको जीत निश्चित भैसकेको भन्दै घोषणा गर्न मात्र बाँकी दाबी गरे । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं दोलखा जिल्ला ईन्चार्ज सरस्वती बस्नेत, श्याम बस्नेत, सोयम बहादुर खड्का लगायतका नेताहरुले आ आफ्नो धारणा राखेका थिए ।