काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) दोलखाका संस्थापक नेता जगतबहादुर श्रेष्ठ नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेता श्रेष्ठलाई पार्टीमा स्वागत गर्नुभयो ।
देशलाई बचाउन र जनताको हितमा काम गर्न आफूले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको नेता श्रेष्ठले बताउनुभयो । उहाँले माओवादी केन्द्र भन्ने पार्टी दलालहरुको पार्टीमा परिणत भएको भन्दै एमालेले मात्रै जनताको चाहना अनुसार काम गर्न सक्ने दावी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व संचारमन्त्री एवं एमाले पोलिट व्युरो सदस्य गुरुङले स्थानीय तहमा आफ्नो पार्टीसँग अन्य पार्टीहरूले प्रतिस्पर्धा नै गर्न नसक्ने बताउनुभयो । आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न नसकेपछि काँग्रेस, माओवादी केन्द्रसहितका राजनीतिका दलहरूले चुनावी गठबन्धन गर्नु परेको उहाँको भनाई छ ।
नेता गुरुङले जनताको सेवा गरेको हिसाबले, शक्ति र संगठन सबै हिसाबले एमाले नै आगामी स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा विजयी हुने दाबी गर्नुभयो । उहाँले पार्टीको आधिकारिक उम्मेदवार बाहेकका लागि चुनावी प्रचार अभियानमा हिँडेको पाइए उनीहरूमाथि पार्टीले कारबाही गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका पनि एक दर्जन बढी नेता, कार्यकर्ता एमाले प्रवेश गरेका थिए । उनीहरूलाई नेता गुरुङ, एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत लगायतले पार्टीमा स्वागत गरेका थिए ।