दोलखा — विदेशबाट झण्डै साँढे ३ सय नागरिकहरु जिल्ला फर्किएको तथ्यांक छ । ९ वटै स्थानीय तहले संकलन गरेको बिवरण अनुसार भारत, कतार, युएई, मलेसिया, जापान लगायत मुलुकबाट ३ सय ४८ जना नागरिकहरु पछिल्लो अवधिमा जिल्ला भित्रिएका हुन् । उनीहरुका लागि हतार हतारमा सबै स्थानीय तहले तयार पारेका दर्जनौं क्वारेन्टाईन भने प्रयोगमा आउन सकेको छैन ।
दोलखामा भारतबाट २ सय ९८, दुवईबाट १८, दक्षिण कोरियाबाट १०, कतारबाट ७, मलेसिया र साउदी अरबवाट ६÷६ जना, जापानबाट २ जना भित्रिएको पहिचान भएको छ । यस्तै बंगलादेश, अमेरिका, साईप्रस, ईराकबाट पनि नागरिकहरु आएका छन् ।
सरकारले विदेशबाट फर्किएका शंकास्पद व्यक्तिहरुको बिवरण तत्काल संकलन गरी उनीहरुलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही अनुसार संक्रमित मुलुकहरुबाट आएका नागरिकहरुको पहिचान गरिएपनि उनीहरुलाई क्वारेन्टाईनमा अनिबार्य राख्ने व्यवस्था गरिएन । जसका कारण स्थानीय तहमा बनेका तीन दर्जन बढि क्वारेन्टाईन प्रयोगविहिन बनेको हो ।
कालिञ्चोक गाउँपालिकाले मंगलवार सिंगटी स्थित प्रताप स्मृति कलेजमा तयार गरेको २५ बेडको क्वारेन्टाईन मात्रै प्रयोगमा ल्याईएको छ । त्यहाँपनि सोमवार राती जिल्ला भित्रिएकाहरुलाई मात्रै राखिएको छ । जिल्ला विपद व्यवस्थापन समन्वय समितिका प्रवक्ता, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बिभु कुमार झाले विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था सामान्य पाईएकाले जिल्लामा तयार पारिएका क्वारेन्टाईन प्रयोगमा नआएको बताए ।
चिकित्सकहरुका अनुसार संक्रमित मुलुकबाट फर्किएको लामो समयसम्म कोरोना संक्रमणको जोखिम हुन्छ । नेपालमा पहिलो व्यक्तिमा संक्रमण पुष्टि भएको दुई महिनापछि संगै आएका व्यक्तिमा पनि कोरोना देखिएको थियो ।
स्थानीय सरकारहरु विदेशबाट भित्रिनेलाई क्वारेन्टाईनमा अनिबार्य राख्ने भन्दा सेल्फ क्वारेन्टाईन र प्रचारप्रसारमा बढि केन्द्रित देखिएका छन् । समयमै गम्भीर साबधानी नअपनाउँदा बैदेशिक रोजगारीबाट फर्किएकाहरु र अन्य काममा प्रवासमा रहेका नेपालीहरु सामान्य ज्वरो र जाँचका भरमा घरमै बसेका छन् । उनीहरुको घरमै स्वास्थ्य परीक्षणको प्रवन्ध गर्ने काम भने भएको स्थानीय जनप्रतिनिधिको दावी छ । उनीहरुका अनुसार बिदेशबाट फर्किएकाहरु बस्न नमानेकाले पनि क्वोन्टाइनहरु प्रयोगमा समस्या भएको हो ।
सरकारले सेल्फ क्वारेन्टाईनमा बस्न गरेको आग्रह बाध्यकारी वन्न नसक्दा र त्यसको नियमनमा चुक्दा विदेशबाट फर्किएकाहरु ठूलो समुदायसँग सजिलै घुलमिल भएका छन् । तामाकोशी गाउँपालिकाका स्वास्थ्य सेवा प्रमुख अरुण कुमार मिश्रले घरमै उनीहरुको पर्याप्त स्वास्थ्य निगरानी गरिएकाले क्वारेन्टाईन प्रयोगमा ल्याउनुपर्ने अवस्था नआएको बताए ।
क्वारेन्टाईनमा लाखौं खर्च
क्वारेन्टाइनमा विदेशवाट आएका वा सम्भावित कोरोना संक्रमितका लागि भन्दै जिल्लाभर ३७ वटा क्वारेन्टाइन कक्ष तयार गरिएका थिए । कोरोना संक्रमितको उपचार गर्न बनाइएका आइसोलेसन कक्षहरु मापदण्ड अनुसार नभएपछि केही गाउँपालिकाले यस्ता कक्षलाई क्वारेन्टाइन बनाएका छन् । जसका लागि लाखौं रुपैयाँ बजेट खर्च गरिएको छ ।
क्वारेन्टाईनमा आढ्ने, ओछ्याउने, झुलसहितको खाट, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा ठुलो धनराशी खर्च भएको छ । सर्वोच्च अदालतले समेत संक्रमित मुलुकबाट फर्किएका सबैलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न आदेश दिएको छ ।