चरिकोट - दोलखाको शैलुङ गाउँपालिका अध्यक्षका उम्मेदवार धनबहादुर तामाङले जीवनमा आफुले जनप्रतिनिधिको रुपमा अन्तिम पटक जनताको सेवा गर्न चाहेको बताएका छन् । आफ्नो सम्पुर्ण जीवन राजनीति र समाजसेवामा समर्पित रहेको भन्दै उनले शैलुङ गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहेर जनताको सेवा गर्ने आफ्नो लागि अन्तिम मौका रहेको बताए ।
रेडियो हिमालीको कार्यक्रम साझा प्रश्नमा कुराकानी गर्दै अध्यक्षका उम्मेदवार तामाङले जिवनको उत्तराद्र्धकालमा गाउँपालिका अध्यक्षमा निर्वाचित गराएर जनताले आफुलाई सेवा गर्ने अन्तिम अवसर दिने विस्वास व्यक्त गरे । ‘मेरो पुरै जीवन शैलुङको राजनीति र समाजसेवामा बितेको छ, मेरो सक्रिय जीवन अब त्यही पाँच वर्ष होला, उनले भने त्यो पाँच वर्ष शैलुङको विकास र समृद्धिमा योगदान पुर्याउने ईच्छा छ ।’
शैलुङ गाउँपालिकाको समग्र विकास र समृद्धिको लागि सबै सरोकारवालाहरुसँग समन्वय गरेर अघि बढ्ने उनको भनाई छ । शैलुङको पर्यापर्यटन, आलु लगायत कृषि उत्पादन तथा पशुपालन, पुर्वाधार विकास, सामाजिक सुरक्षाको क्षेत्रमा विशेष योजना बनाएर कार्यान्वयन गर्ने उनले बताए । शैलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धन हरेक हिसावले कमजोर रहेको भन्दै उहाँले आफ्नो जित सुनिश्चत रहेको दाबी पनि गरे ।