Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचन नजिकिँदै गर्दा दोलखामा माओवादी केन्द्र र कांग्रेस परित्याग गर्दै एमाले प्रवेशको लहर

चरिकोट – दोलखामा सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने क्रम बढेको छ । भागवण्डा नमिलेर गठबन्धननै तहसनहस बनिरहेका बेला नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका हुन् । माओवादी, कांग्रेस र एकिकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको संख्या उल्लेख्य छ ।

निर्वाचनको संघारमा जिल्लामा अन्य दल त्याग्दै एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको छ । केही महिना यता माओवादी केन्द्रका धेरै जिल्ला स्तरिय प्रभावशाली नेताहरु एमाले भित्रिसकेका छन् । स्थानीय निर्वाचन नजिकिँदै गर्दा कांग्रेसका नेता कार्यकर्ताहरु समेत गठबन्धनको बिरोध गर्दै एमाले प्रवेश गर्न थालेका छन् ।

कांग्रेस दोलखाका पुर्व उपसभापति छविलाल मोक्तान, युवा नेता नविन कुमार तामाङसहितका नेताहरु हिजोमात्रै एमाले प्रवेश गरेका छन् । केहीदिन अघि नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीको नेतृत्वमा वडा कमिटीका अधिकांस नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

गौरीशंकर गाउँपालिकामा माओवादी केन्द्रका जिल्ला नेता निमा लामा, शंखनिमा शेर्पा, वाईसियल वाग्मती प्रदेश कमिटीका नेता विष्णु पाख्रिन, विद्यार्थी नेता मिंगुर शेर्पा, अशोक तामाङ लगायतका नेताहरुको नेतृत्वमा ठुलो समुह एमाले प्रवेश गरिसकेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रसँग आबद्ध सिंगो कमिटी र वडा नम्बर १ जुँगमा पनि युवाहरुको टोली एमाले भित्रिएको छ । यस्तै जिरी नगरपालिका, भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका लगायतका स्थानहरुमा पनि अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको संख्या बढ्दो छ ।  

तीन दशक भन्दा लामो समय कांग्रेसको राजनीतिमा सक्रिय भएका उनीहरुले पार्टी परित्याग गर्नुको बाध्यता गठबन्धन र पार्टीहरुमा आएको विचलन रहेको बताएका छन् ।  

एकिकृत समाजवादीबाट पनि धेरै नेता कार्यकर्ता एमालेमा फर्किसकेका छन् । जिल्ला उपाध्यक्ष भुवन केसी यसअघि नै एामले फर्किसकेका छन् भने भीमेश्वर नगरपालिका वडा नम्बर १ मा समावादी पार्टीबाट उम्मेदवार बनेका भक्त बहादुर थापापनि हालै एमाले फर्किएका छन् । उनीहरुलाई जिल्ला र काठमाण्डौंमा आयोजित बिभिन्न कार्यक्रमहरुबीच एमाले केन्द्रीय नेताहरुले पार्टी प्रवेश गराएका हुन् ।

जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले पछिल्लो समय अन्य दलका नेता कार्यकर्ताहरुलाई स्वागत गर्न भ्याईनभ्याई हुनेगरी एमालेप्रतिको आकर्षण बढेको बताउनुभयो । एमालेले पार्टी प्रवेशलाई अभियानकै रुपमा संचालन गर्ने घोषणा गरेको थियो ।

यसैबीच नेपाली कांग्रेस दोलखाले पार्टी परित्याग गर्ने बागी उम्मेदवारी दिएका नेताहरुलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा पुर्व उपसभापति छविलाल मोक्तान, मेलुङ ४ का पुर्व वडा अध्यक्ष छत्र बहादुर तामाङ, कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्की, क्षेत्रीय प्रतिनिधि यम बहादुर कार्की, कालिञ्चोक ५ का वडा सभापति सहदेव खड्का रहेका छन् ।

उनीहरुलाई नजिकिँदै गरेको निर्वाचनमा अन्य पार्टीलाई सहयोग पुग्ने कार्य गरेकाले साधरण सदस्य समेत नरहने गरी निष्काशन गरिएको जिल्ला सभापति बर्मा लामाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update