चरिकोट – नेकपा एमाले दोलखाको पार्टी कार्यालय चरिकोटमा शुक्रवार अकस्मात एउटा चहलपहल देखियो । पार्टी नेता कार्यकर्ताहरुलाई अप्रत्यासित बोलाईएपछि सबैको उत्सुकता बढ्नु स्वभाविक थियो । पार्टी कार्यालयको हलभित्र जम्मा भएका नेता कार्यकर्ताहरु किन बोलाईयो ? भनेर आपसमा कानेखुसी गरेको सुनिन्थ्यो । सायद उनीहरु कार्यक्रमको विषयबारे अनभिज्ञ थिए । कार्यक्रम सुरु भएपछि मात्रै उनीहरुलाई थाहा भयो, कांग्रेस दोलखाका पुर्व उपसभापति एवं स्थानीय तह निर्वाचनमा बैतेश्वर गाउँपालिका उपाध्यक्षका उम्मेदवार छविलाल तामाङसहितका नेताहरु एमाले प्रवेश गर्दैछन् ।
सामान्यतयाः कांग्रेसका माथिल्लो तहका नेताहरु वामपन्थी बन्दैनन् भन्ने बुझाई छ । तर कांग्रेसको ३४ वर्षे लामो यात्रा टुंग्याउँदै पुर्व उपसभापति तामाङ, युवा नेता नविन कुमार तामाङ लगायतका नेताहरु एमाले प्रवेश गरे । कांग्रेसको पदाधिकारी तहको जिम्मेवारी सम्हालिसकेका नेता एमालेमा प्रवेश गर्नुलाई धेरैले नौलो विषय ठानेका छन् । एमाले प्रवेश गर्नुको कारणबारे प्रष्ट्याउँदै उनले कांग्रेसभित्र बिचारको राजनीति समाप्त भएकोले आफुले विचारसहितको पार्टी रोजेको बताए ।
एमाले प्रवेश गरेका मोक्तानले कांग्रेसभित्र वैचारिक नेताको छवि बनाएका थिए । उनी बैत्यश्वरमा स्वच्छ छवि भएका प्रभावशाली नेताको रुपमा परिचित छन् । भीम बहादुर तामाङको नेतृत्व पाउँदासम्म ३४ वर्षको अबधि कांग्रेसमा गुजारेको उनले जानकारी दिए । भीम बहादुर तामाङको निधनसँगै कांग्रेस भन्नुपनि लाजमर्दो अबस्था पैदा भएको उनको टिप्पणी छ । कांग्रेसमा गुन्डागर्दी शैलीमात्रै हाबी देखियो, त्यहाँ विचार बोक्ने बुद्धिजीवि साथीहरुको भविष्य छैन, उनले भने, ‘त्यसैले ईमान्दार नेता कार्यकर्ताहरुले कांग्रेस छोड्नुको बिकल्प छैन ।’
एमाले प्रवेश गर्नुको पछाडी कुनै स्वार्थ र लोभ नभएको उनी बताउँछन् । एमालेभित्र साधारण सदस्य भएर बस्न तयार रहेको उनले बताए । उनी यो निर्वाचनमा जनप्रतिनिधि हुन चाहन्थे । तर उनलाई पार्टीले टिकट दिएन र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका दिए ।
यसअघिको निर्वाचनमा दोलखामै जिरी नगरपालिकाका कांग्रेसका प्रभावशाली नेता टंक जिरेल एमाले भित्रिएका थिए । उनले एमाले प्रवेश गरेको केही दिनपछि नै टिकट पाएर जिरी नगरको मेयर जित्न सफल भएका थिए ।
पार्टी प्रवेशसँगै एमालेले आफ्ना उपाध्यक्षका उम्मेदवार नविना लामाको उम्मेदवारी फिर्ता लिएर उनको स्वतन्त्र उमेदवारीलाई समर्थन गर्ने जनाएको छ । कांग्रेस नेता तामाङलाई स्वागत गर्दै एमाले पोलिट व्युरो सदस्य पार्वत गुरुङले पार्टी प्रवेशको लहरले अब बैतेश्वर मात्रै नभएर दोलखा जिल्लाभर एमालेको विजयको सुरुवात भएको बताए ।
समयको आवश्यकता, वैतेश्वरको समृद्धि र विकासका लागि यो निर्णय गरिएको उनको भनाई छ ।
तामाङको प्रवेशसँगै बैतेश्वरमा एमाले नेता कार्यकर्ताहरु थप उत्साहित भएका छन् । निर्वाचनमा आफ्ना उम्मेदवारको विजय सुनिश्चित भएको उनीहरुको विश्लेषण छ ।
कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले दोलखामा शान्तिपुर्ण रुपमा निर्वाचन गराउने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराए । विगतका निर्वाचनहरुमा दोलखाका कतिपय स्थानमा मतदाताको भोट हाल्ने अधिकार खोसिएको उल्लेख गर्दै उहाँले यो निर्वाचनमा त्यस्तो अवस्था दोहोरिए मान्य नहुने उनले चेतावनी दिए ।