चरिकोट – दोलखाका प्रमुख राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख पदको उम्मेदवारको रुपमा महिलालाई अघि सारेका छैनन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले जिल्ला स्थित ९ वटै स्थानीय तहको प्रमुख पदमा महिलालाई अबसर नदिएका हुन् । एमाले र सत्तारुढ गठबन्धन दलले प्रमुख पदहरुमा मनोनयन दर्ता गराएका व्यक्तिहरु सबै पुरुष रहेका छन् ।
सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा प्रमुख वा उपप्रमुख पदमा संविधानले दिएको अवसरबाट पनि महिलाहरु बञ्चित हुने भएका छन् । गठबन्धनमा रहेका दलहरुले दोलखाको अधिकांस स्थानीय तहको प्रमुख वा उपप्रमुख पदमा पुरुषलाई अघि सारेका छन् । गठबन्धन भएका स्थानीय तहमध्ये दुई वटामा मात्र उनीहरुले उपप्रमुख पदमा महिलालाई अघि सारेका छन् । भीमेश्वर नगरपालिकाको उपमेयरमा एकिकृत समाजवादीबाट संगिता पाख्रिनलाई उम्मेदवार बनाईएको हो भने तामाकोसी गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट सिर्जना सुवेदीको उम्मेदवारी परेको छ ।
कालिञ्चोक गाउँपालिका, जिरी नगरपालिका, मेलुङ गाउँपालिका, शैलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकामा गठबन्धनले दुबै पदमा पुरुष अघि सारेपछि महिलाहरुले अबसर गुमाउनु परेको छ । बैतेश्वर गाउँपालिकामा गठबन्धन तोडिएपछि कांग्रेसले उपाध्यक्षमा महिला अघि सारेपनि माओवादी केन्द्र र एकिकृत समाजवादीले दुवै पदमा पुरुष अघि सारेका छन् ।
प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले भने जिल्लाको सबै स्थानीय तहको उपप्रमुखमा महिलालाई अघि सारेको छ । जसअनुसार भीमेश्वर नगरपालिकामा कमला बस्नेत, जिरी नगरपालिकामा कृष्णमाया बुढाथोकी, वैतेश्वर गाउँपालिकामा नविना लामा, गौरीशंकर गाउँपालिकामा मुना शिवाकोटी, शैलुङ गाउँपालिकामा पार्वती कार्की थापा, विगु गाउँपालिकामा देविका थामी, कालिञ्चोक गाउँपालिकामा कविता थामी, मेलुङ गाउँपालिकामा गायत्री आचार्य र तामाकोसी गाउँपालिकामा अम्बिका पोखरेलले उपप्रमुख पदमा मनोनयन दर्ता गराएका छन् ।