Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लकडाउन उल्लंघन : दुई दर्जन व्यक्ति रातारात जिल्ला भित्रिए

चरिकोट - सरकारले लकडाउनमा कडाई गरेपनि जिल्ला प्रवेश गर्ने क्रम रोकिएको छैन । एक स्थानीय तहबाट अर्कोमा जान समेत रोक लगाईएका बेला जिल्लामा काठमाण्डौँ र भारतदेखि मानिसहरु भित्रिएका हुन् ।

बस रिजर्भ गरी जिल्ला प्रवेश गर्दै गरेका करिव दुई दर्जन व्यक्तिहरुलाई प्रहरीले खरिढुंगाबाट नियन्त्रणमा लिएको छ । उक्त समुहमा भारतबाट आएका व्यक्तिहरु पनि रहेको आशंका गरिएको छ । रातको समयमा आएका उनीहरु कालिञ्चोक गाउँपालिकाका वडा नम्बर ४ देखि ९ सम्मका नागरिक छन् ।

विद्यालयलाई क्वारेन्टाईन बनाउन अवरोध
कालिञ्चोक गाउँपालिकाले उनीहरुलाई वडा नम्वर ५ स्थित लापिलाङ माविमा क्वारेन्टाईन बनाएर राख्ने तयारी गरेपछि स्थानीयले अवरोध गरेका छन् । विद्यालयलाई क्वारेन्टाईन बनाएर उनीहरुलाई राख्न आवश्यक सामग्री सहित पुगेको टोलीलाई स्थानीयले गएराती अबरोध पुर्याएका हुन् ।

बस्तीको बीचमा रहेको विद्यालयमा उनीहरुलाई राख्दा थप जोखिम हुनसक्ने भएकाले अबरोध गरिएको एक स्थानीयले साझावोलीलाई बताए । 

लापिलाङमा स्थानीयको अवरोधपछि उनीहरुलाई रातारात प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी पुर्याईएको थियो । गाउँपालिका अध्यक्ष विन कुमार थामीले प्रताप स्मृति कलेज सिंगटीमा २५ बेडको क्वारेन्टाईन तयार गरी उनीहरुको व्यवस्थापन गरिसकिएको जानकारी दिए ।

काठमाण्डौं, काभे्र, सिन्धुपाल्चोक जिल्लाका राजमार्गमा कडाई नहुँदा उहाँहरु जिल्ला आउनुभएको पाईयो, क्वारेन्टाईनको राम्रो व्यवस्थापन गरी राखिएकोले कुनै समस्या छैन, उनले भने ।

 

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update