चरिकोट – दोलखाको वैतेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार माधव घिमिरेले मतदाताले भोट हाल्न नपाउने बैतेश्वरको नकारात्मक विरासत अन्त्य गर्दै यो निर्वाचनमा आफु बिजयी हुने दाबी गरेका छन् । वैतेश्वरमा मतदाताको मताधिकार कुण्ठित गर्दै बुथ कब्जा गरेर निर्वाचन जित्ने दुष्प्रयास कसैले गरे जनताले त्यसको शसक्त प्रतिवाद गर्ने उनले बताए ।
रेडियो हिमालीको कार्यक्रम साझा प्रश्नमा कुराकानी गर्दै उनले जनतामाथि केही गुण्डागर्दी र अराजक समुहको निरंकुशता र ज्यादती समाप्त गर्नेगरी रणनीतिक योजनाका साथ तयारीमा लागेको बताए । ‘लोकतन्त्रमा पनि बुथ कब्जा गरेर निर्वाचन जित्ने ठाउँ भनेर भन्दा बैतेश्वरबासीको शिर निहुरिएको छ, लज्जाको विषय बनेको छ, घमिरेले भने, ‘यो पटक त्यसको अन्त्य हुनुपर्छ भन्नेमा सबै सहमत छन्, रणनीतिक र योजनाबद्ध ढंगले हामी त्यसको प्रतिवाद गर्छौ ।’
आफु विगतमा पनि अप्ठ्यारो, चुनौती र निरंकुशतासँग जुध्दै आएको भन्दै घिमिरेले अराजतक गतिबिधिबाट आतंकित नहुन मतदातालाई आग्रह गरे । जनतालाई स्वतन्त्र ढंगले निर्वाचनमा भाग लिने वातावरण बताउने उनको भनाई छ । अध्यक्षका उम्मेदवार घिमिरेले कांग्रेस र एमालेका धेरै नेता कार्यकर्ताहरुपनि गुण्डागर्दी प्रवृत्तिबाट प्रताडित भएको र यो निर्वाचनमा उनीहरुको साथ सहयोग पाउने भएकाले आफु बैतेश्वरको साझा उम्मेदवार भएको बताए । सबै बेथितिको अन्त्य गर्दै बैतेश्वरको विकास र समृद्धि, भाग्य भविष्यका लागि पनि जनताले आफुलाई विजय गराउने विस्वास उनले व्यक्त गरेका छन् ।
अर्को एक प्रसंगमा उनले पाँच वर्षको कार्यकालमा वैतेश्वर गाउँपालिकामा भ्रष्टाचार, चरम बेरुजु सहितको बेथिति, डोजर विजनेस फस्टाएको र सार्वजानिक जग्गा हडप्ने काम भएको आरोप लगाए ।