चरिकोट – दोलखाको शैलुङ गाउँपालिकाको सत्तारुढ गठबन्धनभित्र उम्मेदवारका सन्दर्भमा लफडा देखिएको छ । सिट भागबण्डाका विषयमा गठबन्धन दलहरुबीच कुरा नमिल्दा मनोनयन दर्ता ढिला भएको छ भने दुई दल गठबन्धनबाट बाहिरिएका छन् ।
सिट बाँडफाँडमा आजदिनभरको प्रयास सफल हुन नसकेपछि दुई दलले छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । शैलुङमा एकिकृत समाजवादी र जनता समाजवादी गठबन्धनबाट बाहिरिँदै गाउँपालिकादेखि सबै वडा तहमा छुट्टै उम्मेदवारी दिएका हुन् । एकिकृत समाजवादीले गाउँपालिका प्रमुखमा नेता भवनसिंह थापासहित सबै पदहरुमा एकल उम्मेदवारी दिएको हो । यस्तै जनता समाजवादीले पनि गठबन्धनभित्र सन्तोषजनक स्थान नपाएपछि छुट्टै मनोनयन दर्ता गरेको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रकै बीचमा सिट बाँडफाँडमा किचलो हुँदा सोमवार अबेरसम्म मनोनयन दर्तामा समस्या देखिएको थियो । प्रमुख र उपप्रमुख वडा नम्बर ३ र ८ कुनमा हुने भन्ने विषयमा दुई दलबीच बिवाद भएको हो । उनीहरु मनोनयन दर्ताको क्रममा निर्वाचन अधिकृतको कार्यालय हाताभित्रै अपशप्द प्रयोग गर्दै आपसमा गालीगलौजमा उत्रिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
यसैबीच नेपाली कांग्रेसका शैलुङ गाउँपालिकाका उपसभापति चित्र बहादुर कार्की र स्वस्तिका कार्कीसहित काटाकुटीका अधिकांस नेता कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् । पार्टी सभापतिले उनीहरुलाई केहीदिन अघि मात्रै पार्टीको हित बिपरित कार्य गरेको भन्दै स्पष्टिकरण सोधेको थियो ।