Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा एमालेका उम्मेदवारहरुको मनोनयन दर्तामा उत्साह (फोटोफिचर)

चरिकोट - नेकपा एमालेले दोलखाका सबै स्थानीय तहमा उत्साहजनक रुपमा आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै स्थानीय तहमा पहिलो दिननै मनोनयन दर्ता गरिएको हो ।

जिल्लाका ९ वटै स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयहरुमा एमाले नेता कार्यकर्ताहरु बाजागाजा र र्यालीसहित मनोनयन दर्ता गर्न पुगेका थिए । जिल्लामा दुई नगरसहित ९ वटा स्थानीय तह छन् । जसअनुसार भीमेश्वर नगरपालिकामा एमालेबाट हरिवंश चौलागाईं प्रमुख र कमला बस्नेत तथा जिरी नगरपालिकामा मित्र जिरेल प्रमुख र कृष्णमाया बुढाथोकीले मनोनयन दर्ता गराएका छन् । भीमेश्वर नगरपालिकामा यसअघि जिल्ला कमिटीले भरत केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर प्रदेशले जिल्लाको निर्णय परिवर्तन गर्दै चौलागाईलाई टिकट दिएको हो ।

यसैगरी मेलुङ गाउँपालिकामा एमालेका हिराकुमार थोकर र गायत्री आर्चायले प्रमुख र उपप्रमुखमा उमेदवारी दर्ता गराएका छन् भने बैत्यश्वर गाउँपालिकामा प्रमुखमा माधवप्रसाद घिमिरे र उपप्रमुखमा नविना लामाले मनोनयन दर्ता गराएका छन् ।

गौरीशंकरमा जंग गुरुङ र मुना शिवाकोटी, विगूमा अच्युतम कटुवाल र देविका थामी, कालिञ्चोकमा गणेश शिवाकोटी र कविता थामी, तामाकोसीमा अभिषेक सुवेदी र अम्बिका पोखरेलले उमेदवारी मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका तीन दलले भने सोमबार मात्र मनोनय दर्ता गर्ने भएका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसले ४ माओवादीले ३ र नेकपा एकीकृत समाजवादीले २ वटा स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिने तयारी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update