चरिकोट - स्थानीय तह निर्वाचन गराउन दोलखामा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् । जिल्लाको दुई नगरपालिकासहित ९ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थानापना गरिएको हो ।
सदरमुकाम चरिकोट स्थित साविकको महिला तथा वालवालिका कार्यालयको भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको बिहिवार दोलखाका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपाने र सहायक निर्वाचन अधिकृत भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यालयको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत न्यौपानेले जिल्लामा शान्तिपूर्ण, धाधलीरहित ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन आफु तत्पर रहेको भन्दै त्यसमा सहयोग गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरे । जिल्ला निर्वाचन कार्यालयका अनुसार दोलखाका अन्य ८ वटा स्थानीय तहमा पनि बिहिवार एकैसाथ निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् । निर्वाचन अधिकृतहरुले यही वैशाख ११ गतेदेखि औपचारिक रुपमा निर्वाचनसँग सम्बन्धित काम सुरु गर्नेछन् ।
भीमेश्वर नगरपालिकामा दोलखा जिल्ला अदालतका न्यायधिस कविप्रसाद न्यौपाने, जिरी नगरपालिकामा उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्याधिवक्ता नवराज पराजुली, गौरीशंकर गाउँपालिकामा जिल्ला समन्वय समिति दोलखाका उपसचिव होमप्रसाद घिमिरे, कालिञ्चोक गाउँपालिकामा राष्टिय कितावखानाका उपसचिव विजयराज बडु, तामाकोसी गाउँपालिकामा राष्टिय सूचना आयोगका उपसचिव बावुराम खनाल, विगु गाउँपालिकामा जिल्ला अदालत दोलखाका श्रेष्तेदार शिवकुमार पोखरेल, मेलुङ गाउँपालिकामा सामान्य प्रसाशनका उपसचिव प्रल्हाद कार्की, वैतेश्वर गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव बशिष्ट कुमार घिमिरे निर्वाचन अधिकृतको रुपमा खटिनेछन् ।
मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा बिहीबार एकसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्था हेर्ने जिम्मेवारी पाएको छ । मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ ।
निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ ९निजी सुरक्षा अधिकारी० सहित नौ जना कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनै कर्मचारी रहनेछन् ।
निर्वाचन अधिकृतको कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च २ लाख ५५ हजार रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने २ लाख ८५ हजार रुपैयाँ बजेटको सिलिङ दिइएको छ । कार्यालयको सुरक्षामा बढीमा १० जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछ । कार्यालयमा खटिने नियुक्ति भएदेखि सुविधा पाउनेछन् । मुख्य निर्वाचन अधिकृतले जिल्लाभरिको स्थानीय तहमा समन्वय गर्न प्रत्येक स्थानीय तहको एक हजारका दरले भत्ता पनि पाउनेछन् ।
निर्वाचन अधिकृतले निर्वाचन अवधिभर एकमुष्ठ ५ हजार सञ्चार सुविधा पाउनेछन् । सुरुको तलब स्केलको एक सय प्रतिशत भत्ता पाउनेछन् । यसबाहेक हरेक दिनको खाजा खर्च पनि पाउँछन् । निर्वाचन अधिकृतको कार्यालयमा खटिनेले एक सय प्रतिशत भत्ता र खाजा खर्च पाउनेछन् ।