Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गठबन्धनबारे दोलखामा असन्तुष्टि बढ्दै, मेलुङमा बागी उम्मेदवार उठ्ने कांग्रेस नेताको घोषणा

चरिकोट – दोलखामा नेताहरु गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिरहँदा स्थानीय स्तरमा भने बिद्रोहका आवाज उठ्न थालेको छ । जिल्ला स्थित गठबन्धन दलका नेताहरु सदरमुकाम चरिकोटमा बसेर दिनहुँ गठबन्धनको कसरत गरिरहँदा स्थानीय स्तरमा असन्तुष्टि सार्वजानिक हुन थालेको हो ।

सत्ता साझेदार दलहरुमध्ये दोलखामा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी सिट बाँडफाँडको अन्तिम तयारीमा छन् । नेकपा एमाले एक्लै गठबन्धनको सामना गर्ने तयारीमा छ । सोमवार भएको छलफलमा कांग्रेसलाई ४, माओवादीलाई ३ र समाजवादीलाई २ स्थानीय तह दिनेगरी नेताहरु सहमति नजिक पुगेको चर्चा बाहिर आएको थियो । त्यससँगै धमाधम स्थानीय तहका नेता कार्यकर्ताहरुले सामाजिक संजालमा बिरोध सुरु गरेका छन् । 

गठबन्धनभित्र मेलुङ गाउँपालिका एकिकृत समाजवादी पार्टीलाई दिनेगरी छलफल अघि बढाएपछि कांग्रेस नेता राजु कुसुम लामाले बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । मेलुङ वडा नम्बर ६ का अध्यक्ष समेत रहेका उनले सामाजिक संजाल मार्फत समाजवादी पार्टीलाई अध्यक्ष दिईए आफ्नो बागी उम्मेदवारी रहने प्रष्ट पारेका हुन् ।

‘मेलुङमा गठबन्धन भएर समाजवादीलाई अध्यक्ष दिएमा मेरो बागी उम्मेदवारी हुने सबै नेपाली कांग्रेसका साथीहरुलाई जानकारी गराउँदछु, उनले सामाजिक संजालमा लेखेका छन् । उनले यसअघि पनि गठबन्धन गरेर चुनाव लड्न नहुने भन्दै नेताहरुलाई दबाव दिँदै आएका थिए । अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताहरु गठबन्धनबारे असन्तुष्ट छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update