दाङ - नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेका छन् । सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । माओवादी केन्द्रीय सदस्य समेत रहेका उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार हुन् । गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका थिए ।
पत्रकार सम्मेलनमा उनले २०७४ सालको निर्वाचनमा पार्टीको तर्फबाट कोही चुनाव लड्न तयार नभएको संकटका बेला आफूले उम्मेदवारी दिएको बताए । नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी नरहेको र कम्युनिस्ट आदर्श गुमाइसकेकाले आफुले राजीनामा दिएको गौतमले बताए । तत्काल कुनै पार्टीको सदस्यता लिने योजना नरहेको पनि बताए ।
उनले नेकपा माओवादी केन्द्रमा लामो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएपछि आफूले पार्टी भित्र बस्न नचाहेको बताए । माओवादी केन्द्रले घोराही उपमहानगरपालिको मेयरमा हेमराज शर्माको नाम अगाडि सारेपछि पार्टीभित्र असन्तुष्टि बढेका बेला उनको राजीनामा आएको हो ।