Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्याङ्जामा छैटौँ भाटी बजार मेला सुरु 

-सन्दिप पौडेल

स्याङ्जा – स्याङजा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित आँधिखोला गाउँपालिकामा छैटौँ भाटी बजार मेला सुरु भएको छ । विगत वर्षहरुमा जस्तै यो वर्षपनि नयाँ वर्षको अवसर पारेर गाँउपालिकाको मध्य भागमा रहेको भाटी बजारमा मेलाको आयोजना गरिएको हो ।

आईतवारदेखि सुरु भएको उक्त मेलाको नेकपा एमालेका स्याङ्जा जिल्ला उपसचिव युवा नेता विश्व पौडेलले एक समारोहकाबीच उद्घाटन गरे । पौडेल यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आँधिखोला गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पनि हुन् । तीन दिन सम्म चल्ने उक्त मेलामा विभिन्न सांस्कृतिक, सांगीतिक तथा खेलकुद कार्यक्रमहरु राखिएको आयोजकले जनाएको छ ।

यसैगरी मेलामा लोकदोहोरी क्षेत्रका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुतीका साथै स्थानीय स्तरमा उत्पादित वस्तुको व्यापार र प्रवद्र्धन गरिनेछ । जिल्लामा नै प्रख्यात आँधिखोलाका ताजा माछाको परिकारहरू मेलाको आकर्षण बन्नेछ । मेलाको मुख्य प्रयोजक मुक्तिनाथ विकास बैंक रहेको छ । आँधिखोला गाँउपालिका र नयाँ बजार पोलिक्लिनिक चुन चुन फार्मेसी मेलाको विशेष सहयोगीका रूपमा रहेका छन्।

एकता युवा क्लवको व्यवस्थापनमा आईतवार आयोजित उद्घाटन समारोहमा गाँउपालिकाकी सिविआरएस सामुदायिक सहजकर्ता बबिता ढकाल लगायतका विशिष्ट व्यक्तित्वहरूले मन्तव्य व्यक्त गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update