चितवन - कांग्रेसभित्र गठबन्धनको अबज्ञा सुरु भएको छ । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामुहिक अवज्ञा गरेका हुन् । उनीहरुले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।
बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले पार्टी निर्णयको अवज्ञा गर्दै सामूहिक राजीनामा दिएका हुन् । प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।
राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।
भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।