Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा स्थानीय तह निर्वाचनको अन्तिम तयारी, निर्वाचन अधिकृतहरु फिल्डमा खटिँदै

चरिकोट – आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय दोलखा अन्तिम तयारीमा जुटेको छ । कार्यालयले मतदान केन्द्रहरुमा जनशक्ति व्यवस्थापन, अस्थायी कार्यालय स्थापना, अन्य आवश्यक सामग्रीहरुको व्यवस्थापन सहित निर्वाचनको अन्तिम तयारी गरेको हो । 

जिल्ला निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले जिल्ला स्थित दुई नगरपालिकासहित ९ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचन अधिकृत खटाउने अन्तिम तयारी भैरहेको जानकारी दिए । उनका अनुसार निर्वाचन सम्बन्धी तालिम सकिएलगत्तै यही वैशाख ८ गतेबाट मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु सम्बन्धित स्थानीय तह पुगेर कार्यालय स्थापना गरी वैशाख ११ बाट निर्वाचन सम्बन्धि काम सुरु गर्नेछन् ।  

जस अनुसार भीमेश्वर नगरपालिकामा दोलखा जिल्ला अदालतका न्यायधिस कविप्रसाद न्यौपाने, जिरी नगरपालिकामा उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्याधिवक्ता नवराज पराजुली, गौरीशंकर गाउँपालिकामा जिल्ला समन्वय समिति दोलखाका उपसचिव होमप्रसाद घिमिरे, कालिञ्चोक गाउँपालिकामा राष्टिय कितावखानाका उपसचिव विजयराज बडु, तामाकोसी गाउँपालिकामा राष्टिय सूचना आयोगका उपसचिव बावुराम खनाल, विगु गाउँपालिकामा जिल्ला अदालत दोलखाका श्रेष्तेदार शिवकुमार पोखरेल, मेलुङ गाउँपालिकामा सामान्य प्रसाशनका उपसचिव प्रल्हाद कार्की र वैतेश्वर गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव बशिष्ट कुमार घिमिरे निर्वाचन अधिकृतको रुपमा खटिनेछन् । 

जिल्लामा १ सय ९३ वटा मतदान केन्द्रहरु कायम रहेछन् भने ९४ वटा मतदान स्थल कायम गरिएका छन् । जसमा १ हजार ५ सय ४१ जना जनशक्ति खटाउने तयारी छ । दोलखाका २ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी ९ वटै स्थानीय तहहरुमा १ लाख ६० हजार ९६ जना मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाउन पाउनेछन् । जसमा ८० हजार ५ सय १७ जना पुरुष र ७९ हजार ५ सय  ७९ जना महिला रहेका छन् ।

जिल्लामा स्थानीय तह निर्वाचनमा २२ वटा दलले भाग लिँदैछन् । जसमध्य राष्ट्रिय स्तरमा मान्यता प्राप्त ६ वटा र जिल्ला कार्यसमितिको विवरण बुझाएका १६ वटा राजनितिक दलहरु रहेका छन । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update