चरिकोट – नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले कांग्रेस आफु अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने पक्षमा नरहेको बताएका छन् । दोलखामा गठबन्धन दलबीच पटक पटक भएको बार्तातर्फ संकेत गर्दै उनले कांग्रेस आफु समाप्त भएर अरुलाई बत्ती बालेर उज्यालो दिन नसकिने अभिव्यक्ति दिएका हुन् ।
कांग्रेस दोलखा जिल्ला कार्यसमितिले बुधवार सदरमुकाम चरिकोटमा आयोजना गरेको बैठकमाा बोल्दै सभापति लामाले गठबन्धन दलबीच भएको बार्तामा खासै प्रगति नभएको पनि जानकारी पनि गराए । ‘आफु समाप्त भएर अरुलाई बत्ती बालेर उज्यालो पार्न सकिँदैन, ‘यसबारेमा पनि चिन्तन् मनन् गर्न आग्रह गर्छु, उनले भने, गठबन्धन दलबीच बार्ताको कुरा अघि बढ्न नसकेको कुरा पनि अवगत गराउन चाहन्छु ।’
कांग्रेस एक्लै चुनावमा जानसक्ने तर्फ ईगिंत गर्दै गठबन्धन हुन्छ की हुँदैन भनेर नअल्मलिन पनि उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे । कांग्रेस दोलखाले गठबन्धनबारे सुझाव लिन बैठक बोलाएको हो । स्थानीय स्तरका नेताहरुको रिपोर्टिङका आधारमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे कांग्रेस दोलखाले निर्णय लिने बताईएको छ ।