काठमाडौँ - नेपालका तीनजना प्रधानमन्त्रीहरु भारतीय राजदुतले आयोजना गरेको रात्रीभोजमा सहभागी हुन दुतावास पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लैनचौर स्थित दुतावास गएका हुन् ।
उनीहरुसँगै अन्य नेता र मन्त्रीहरु पनि दुतावास गएका थिए । भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि आफ्नो कार्यकालको बीचमै स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार रात्रीभोजको आयोजना गरेका थिए । सत्ता गठबन्धनको बालुवाटारमा बैठक सकेपछि प्रधानमन्त्री देउवा, दाहाल र नेपाल लगायतका नेता सिधै लैनचौरस्थित राजदूतावास गएका थिए ।
सुरक्षा स्रोतले दिएको जानकारी अनुसार राजदूतावासमा प्रधानमन्त्री देउवा करिब आधा घण्टा बसेर फर्के थिए । राजदूतावासमा गृहमन्त्री बालकृष्ण खाँण लगायतका मन्त्री र विभिन्न दलका नेताहरु सहभागी थिए । रात्रिभोजमा प्रमुख प्रतिपक्षी दलका नेता एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।