Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा एमालेले सहमतिमा टुंग्याउन थाल्यो उम्मेदवार, सबैमा सर्बसम्मति जुटाउन  निर्देशन

चरिकोट – नेकपा एमालेले दोलखामा स्थानीय तह निर्वाचनका उम्मेदवारहरु सर्बसम्मतिमा टुंग्याउन थालेको छ । एमाले दोलखा जिल्ला कमिटिको सदरमुकाम चरिकोटमा मंगलबार बसेको पूर्ण बैठकमा ९ वटै स्थानीय तह र ७४ वडाका उम्मेदवारहरुको सुची पेश भएको छ ।

गाउँ र नगर संगठन कमिटिका अध्यक्ष र ईन्चार्जले पेश गरेको सूची अनुसार केही स्थानीय तह र एक दर्जन बढि वडाका उम्मेदवार सर्बसम्मतिमा सिफारिस गरिएको छ । बैठक स्रोतका अनुसार आजको बैठकमा गौरीशंकर गाउँपालिकाका अध्यक्ष र विगु गाउँपालिका उपाध्यक्षको उम्मेदवार सर्बसम्मत रुपमा सिफारिस गरी जिल्लामा पेश गरिएको छ । 

नगर र गाउँ संगठन कमिटिका पदाधिकारीहरुले सहमतिको प्रयास जारी रहेको रिपोर्ट पेश गरेपछि बैठकले सहमतिको लागि केही दिनको समय थप गरेको छ । जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेदवारको नाममा तल्लो कमिटिबाटै सर्बसहमति जुटाउन सहमतिका लागि केही दिनको समय थप गरिएको जानकारी दिए । 

बैठकलाई सम्बोधन गरेका पोलिट व्यूरो सदस्यहरु आनन्द पोखरेल र पार्वत गुरुङले पनि सहमतिमै जोड दिँदै थप प्रयास गर्न निर्देशन दिएका छन् । बैठकमा पोलिट व्युरो सदस्य गुरुङले पार्टीले जित्ने आधार नै उम्मेदवारको मुख्य मापदण्ड रहेको भन्दै सोही अनुसार अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरे । 

दोलखामा एमाले एक्लै गठबन्धन बिरुद्ध स्थानीय तहको निर्वाचन लड्ने तयारीमा छ । निर्वाचन आयोगले आउँदो ११ र १२ गते उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजानिक गरिसकेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update