चरिकोट – नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय तह निर्वाचनका लागि एकतर्फी रुपमा उम्मेदवार घोषणा गर्न थालेको छ । आउँदो वैशाख ३० गते हुने निर्वाचनमा दोलखामा पनि गठबन्धन गर्ने प्रयासकाबीच माओवादी केन्द्रले धमाधम उम्मेदवार घोषणा गर्न थालेको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी लगायतका दलबीच केहीदिन अघि जिल्लामा पनि गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको थियो । माओवादी केन्द्रले मंगलबार मात्रै दुई वटा गाउँपालिका अध्यक्षमा आफ्नो उम्मेदवारको नाम बाहिर ल्याएको छ । माओवादी केन्द्रले बैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्का र तामाकोसी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसीको नाम सिफारिस गरेको हो । यी दुबै गाउँपालिकामा माओवादी केन्द्र कमजोर रहेको अन्य दलको विश्लेषण छ । गठबन्धनका दलहरुबीच अघिल्लो स्थानीय तहको निर्वाचनमा व्यक्त भएको मतलाई टिकट बाँडफाँडको प्रमुख आधारमा मान्ने सहमति छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा बैतेश्वरको अध्यक्षमा कांग्रेसका उम्मेदवार छवि लामा ७१७९ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार ऋषिकेश उप्रेतीले ५०२९ मत प्राप्त गरेका थिए । पार्टीको अबस्था थप सुदृढ भएको भन्दै कांग्रेस नेताहरु बैतेश्वर अन्य दललाई छाड्न नसकिने अडानमा छन् । तामाकोसी गाउँपालिकामा पनि नेकपा एमालेको उम्मेदवार ईश्वरचन्द्र पोखरेल ४६१५ मतका साथ निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भवेन्द्र कार्कीले ३८२० मत प्राप्त गरेका थिए ।
माओवादी स्रोतले बताए अनुसार गठबन्धनमा दबाब बढाउन पार्टीका उम्मेदवार घोषणा गर्न थालिएको हो । गठबन्धनको बार्तामा निरन्तर सहभागि कांग्रेस पुर्व जिल्ला सभापति रुद्र बहादुर खड्काले आ–आफ्नो पार्टीबाट उम्मेदवारी घोषणा गरेर जाने विषयमा कुराकानी नभएको बताए । गठबन्धनका नेताहरुबीच स्थानीय तह बाँडफाँडमा सहमति हुन नसकेपछि केही दिन पार्टीमा आन्तरिक गृहकार्य गर्ने समझदारी छ ।