Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमालेबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ८ जनाको दाबी 

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट ८ जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनीहरुले आफुलाई गाउँपालिकाको अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् ।

उम्मेदवारको विषयमा छलफल गर्न शनिवार बसेको गाउँपालिका संगठन कमिटिको बैठकमा उनीहरुले आफ्नो धारणा सहित पार्टीको तर्फबाट अध्यक्षमा दावी प्रस्तुत गरेका थिए । अध्यक्षमा दाबी गर्नेहरुमा रोहितचन्द्र खड्का, विनकुमार थामी, गणेश शिवाकोटी, लक्ष्मण थामी, हरि ओली, चेतबहादुर खड्का, निशान बुढाथोकी र अर्जुन बुढाथोकी रहेका छन् । उनीहरुमध्ये ६ जना जिल्ला कमिटि सदस्यको जिम्मेवारी छन् । 

एमाले कालिञ्चोक गाउँपालिका कमिटिका अध्यक्ष ईश्वरी दाहालले गाउँपालिका अध्यक्षको लागि बैठकमा ८ जनाको दाबी प्रस्तुत भएको र त्यसलाई माथिल्लो निकायमा पठाईने जानकारी दिए । यसैबीच एमालेबाट कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षको लागि पनि ८ जनाले दावी गरेका छन् । सविना पाण्डे, लक्ष्मी शिवाकोटी, रमा शिवाकोटी, कविता थामी, सुजता शिवाकोटी, सुमित्रा शंकर, छलिमाया थामी र राधा ओलीले उपाध्यक्षमा आकांक्षा राखेका हुन् । 

एमालेको अन्तरपार्टी निर्देशिका अनुसार नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखबारे टिकटको निर्णय गर्ने अधिकार पार्टीको प्रदेश कमिटिलाई दिईएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update