Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘गठबन्धनलाई पहिलेनै जितेका हौं, यो पटक थप शक्तिका साथ सबै स्थानीय तह जित्छौं’

दोलखाका राजनीतिक दलहरु वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा होमिईसकेका छन् । निर्वाचन परिणामको सन्दर्भमा दलहरुको आ–आफ्नै दाबी छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठनबन्धनलाई पाराजित गर्दै जिल्लाका ९ मध्ये ७ वटा स्थानीय तहमा बिजय प्राप्त गरेको थियो । आसन्न निर्वाचनमा एमालेले सबै स्थानीय तहमा बाजी मार्ने दाबी गरिरहेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमाले दोलखाको तयारी र जनप्रतिनिधिको पाँच वर्षे कार्यकालका सन्दर्भमा एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठसँग गरिएको संवादको संम्पादित अंश...
 

गाउँपालिका अध्यक्ष, पार्टीको जिल्ला अध्यक्षको  जिम्मेवारीमा हुनुहुन्छ । स्थानीय तहको निर्वाचनपनि नजिक आईसक्यो । धेरै जिम्मेवारीमा एकपटक सक्रिय हुनुपर्दा थकान र बोझको अनुभुति भैरहेको छैन ? 

बिद्यार्थी जीवनबाट सुरु गरेको राजनीति बिभिन्न जिम्मेवारी हुँदै आज पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारीमा छु । मैले राजनीति सुरु गरेको ४२ वर्ष भैसकेको छ । द्धन्द्धकालको कठिन परिस्थितिमा पनि नआत्ति काम गरेको मान्छे हुँ । म धेरै खटेर काम गर्ने मान्छे हुँ । नेकपा एमाले दोलखालाई अझ शक्तिशाली र अभिभावक पार्टीको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु । राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । 

राजनीतिकर्मीहरुलाई अहोरात्र खट्दापनि थकान नहुने शक्ति चाँही कसरी प्राप्त हुँदोरहेछ ?  
पहिलो कुरा त हामीलाई व्याक सपोर्ट भनेको माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनबाद छ । बहुदलीय जनवादलाई जनताको बीचमा स्थापित गर्नेगरी अहिले सुखमा नेकपा एमाले, दुखमा नेकपा एमाले, आपतविपदमा एमाले, जनताको मनमस्तिष्कमा नेकपा एमाले र जनताको घरदैलोमा नेकपा एमाले भन्ने नाराका साथ पार्टीलाई अघि बढाउने प्रयासमा छु । जनताको बहुदलीय जनवाद र जनताको मायाका कारण राजनीतिमा थकान भन्दा पनि थप उत्साहित भएर लाग्ने प्रेरणा मिलिरहेको छ । 

अलिकति मेलुङ गाउँपालिकाको सन्दर्भमा कुरा गरौं न अध्यक्ष ज्यू, पाँच वर्षको कार्यकाल कसरी बित्यो ? 
हामी निर्वाचित भएको एक वर्ष ऐन, नियम, कानुन बनाउन चुनौती थियो । संघीय सरकारले समयमै ऐन, कानुन निर्माण गरेर नदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भयो । ऐन कानुन नपाउँदा जनप्रतिनिधिहरुले रणभुल्लमै बिताउनुपर्यो । त्यसपछि पाँचवटा ऐन कार्यान्वयनमा ल्यायौं । पहिलो कुरा भौतिक पूर्वाधारतर्फ १४ वटा सडक योजनालाई गौरबको आयोजनाको रुपमा अघि बढायौं । त्यसैगरी जनता आवाज कार्यक्रम, सिमित स्रोतसाधनका बावजुत शिक्षा पूर्वाधार, स्वास्थ्य पूर्वाधार, प्रशासनिक पूर्वाधारको क्षेत्रमा ठुलो काम गर्यौं । त्यस्तै उत्पादन, सिंचाई, खानेपानी, कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रमा पनि महत्वपुर्ण काम सम्पन्न भएका छन् । 

यहाँहरुले पाँच वर्षको अबधिमा गर्नुभएको कामले मेलुङको विकास र समृद्धिमा चाँही ठोस योगदान कत्तिको पुगेको छ ? 
सिमित स्रोतसाधनका बावजुत उल्लेख्य काम सम्पन्न गर्न पाउँदा सन्तुष्ट छु । गाउँपालिकाले धेरै क्षेत्रमा फड्को मार्ने काम गरेको छ । यहाँहरुले क्रस चेकपनि गर्न सक्नुहुन्छ । बजेट अभाव लगायतका कारण गाउँपालिकाको प्रशासनिक भवन चाँही बनाउन सकिएको छैन । अरु अनगिन्ति कामहरु भएका छन्, जसले जनताको आर्थिक सामाजिक जीवनमा ठुलो टेवा पुर्याएको छ । 

अब जिल्लाभरीको सबै स्थानीय सरकारलाई सबल र नयाँ मोडलका साथ अघि बढाउने स्पष्ट खाकासहित हामी आउँदैछौं । आगामी निर्वाचनमा दोलखाका सबै स्थानीय तहमा नेकपा एमालेले बिजय हाँसिल गर्छ र बाँकी अधुरा काम नयाँ जनप्रतिनिधिहरुले गर्नेछन् । 

तर विकासबारे जनप्रतिनिधि र जनताको बुझाई फरक फरक छ, अध्यक्ष ज्यू, जनप्रतिनिधिहरुले दाबी गरेजस्तो विकास भएको कुरालाई किन आत्मासाथ गर्न नसकेको हो त ? कि विकास बारे जनतालाई बुझाउन नसकेको हो ? 

यो सबै विकासे काम सरकारको हो भन्ने कुराले समस्या भएको हो । त्यसमा जनप्रतिनिधिको भूमिका र पहलकदमीको कुरा ओझेलमा पार्न खोजिएको छ । समाजमा नकारात्मकता व्याप्त छ । भएको कामलाई स्वीकार गर्न नसक्ने प्रबृत्ति छ । 
होईन, सपना देखाउने, नारा लगाउने, आदर्शका कुरा गर्ने एकातिर होला तर व्यबहारतः कति कार्यान्वयन भए भन्ने प्रश्न महत्वपुर्ण होला नी ? 
नाराको कुरा मात्रै होईन । हामीले अघिल्लो निर्वाचन र अहिलेपनि जनताको मन छुने कार्यक्रम ल्याउँछौं । र कार्यान्वयन गर्छौँ । 
यति धेरै कामको फेहरिस्त यहाँले प्रस्तुत गर्नुभयो । तर जनतामा सन्तुष्टि त देखिँदैन नी, कारण के होला ? केही विश्लेषण गर्नुभएको छ ? 

मेलुङमात्रै होईन मुलुकभरी असन्तुष्टि देखिन्छ । तर जति प्रचार गरिएको छ, त्यस्तो असन्तुष्टि छैन । जनताको अपेक्षा अर्वौको छ, तर हामीले १२ करोड भित्र रहेर गाउँपालिकाको सबै योजना कार्यान्वयन गर्नुपर्ने बाध्यता छ । उक्त बजेट भ्रष्टाचार पुर्ण रुपमा न्यूनीकरण हुने र सुशासन स्थापित हुनेगरी काम गरिएको छ । केही काममा समस्या छन् । जस्तो, सामाजिक सुरक्षा भत्ताका लागि बैंकिङ प्रणाली लागु भएपछि जनतालाई कष्ट भएको छ । अहिलेको संघीय शासन प्रणाली अनुसार गुठि ऐन संशोधन र कार्यान्वयन नहुँदा समस्या भएको छ । र प्रशासनिक भवन बन्न नसक्दा जनतामा केही गुनासो हुनु स्वभाविक हो । 

अब निर्वाचनतर्फ केन्द्रीत भएर कुराकानी गरौं न, बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेकपा एमालेको तयारी कस्तो छ ? 
निर्वाचनलाई लक्षित गर्दै हामीले गाउँगाउँ, टोलटोल र घरघरमा पार्टी परिचालनको अभियान संचालन गरेका छौं । कार्यविभाजन भएको छ । मत सर्वेक्षण सहित हाम्रा लोकप्रिय उम्मेदवार पहिचानको काम भैरहेको छ । 

अभियानको निष्कर्ष र रिपोर्ट कस्तो प्राप्त भैरहेको छ ? 
पहिलो कुरा त, पार्टीलाई संस्थागत रुपमा विकास गर्ने कुरा हो । पटक पटक पार्टीको बिभिन्न तहको बैठक बसेर मसिनो ढंगले समिक्षा गर्ने काम भैरहेको छ । अहिले अध्यक्षको नेतृत्वमा निर्वाचन परिचालन कमिटी घोषणा गरेर निर्वाचन लक्षित कार्यक्रमहरु भैरहेका छन् । उम्मेदवारको मापदण्ड अनुमोदन गरेर सोही अनुसार उम्मेदवार टुंगो लगाउने काम सुरु भएको छ । 

उसोभए कहिलेसम्म वडा र नगर तथा गाउँपालिकाको टिकटको टुंगो लागिसक्छ ?
सर्वसम्मति भएको अवस्थामा यही २६ गतेभित्र जिल्ला कमिटिमा उम्मेदवारहरुको नाम आईपुग्छन् । त्यो जिल्ला कमिटीमा प्रस्तुत हुन्छ र २७ गतेसम्म त्यसलाई कम्पायल गर्ने काम हुन्छ । त्यसपछि बस्ने जिल्ला कमिटी बैठकले त्यसलाई फैसला गर्छ । 

टिकटको सन्दर्भमा माथिबाटै टिका र आशिर्वाद दिएर पठाउँदा समस्या हुने गरको पाईन्छ । जनताले रुचाएको स्वच्छ छवि र लोकप्रिय उम्मेदवार कसरी छनोट हुन्छ ? 

त्यसमा शंका नगर्न आग्रह गर्छु । निर्वाचन जित्न को व्यक्तिलाई उठाउँदा सजिलो हुन्छ हामी त्यसको पक्षमा निर्णय गर्छौँ । कतिपय वडाबाट प्राप्त भएका व्यक्तिले निर्वाचन हार्ने अवस्थामा जिल्लाले रिथिंक गर्नसक्छ । 

दोलखाको ७४ वटै वडा र ९ वटै स्थानीय तहमा नेकपा एमालेले विजय प्राप्त गर्छ भनेर यहाँले पटक पटक दोहोर्याईरहनुभएको छ । त्यो कसरी सम्भव छ ? त्यस्तो जित्ने आधार एमालेसँग छ ? 

पहिलो कुरा त, अहिले नेकपा एमाले नेता कार्यकर्तामा उत्साह भरिएको छ । सबैजना पार्टी निर्माणको अभियानमा अहोरात्र खटिरहनुभएको छ । अर्को कुरा पार्टी सरकारमा हुँदा आर्थिक सामाजिक रुपान्तरणमा अतुलनिय योगदान पुगेको छ । जनताले नसोचेको विकास भएको छ । तेस्रो कुरा नेकपा एमालेका नेता कार्यकर्ता असाध्यै मिहिनेती छन्, अनुशासित छन् । एमाले नेतृत्व लोकप्रिय छ, सबै जनताले माया गर्नुहुन्छ । २०५१ सालमा मनमोहन अधिकारी देखि अहिलेसम्म गरेको जनपक्षिय कामको श्रेय एमालेलाई जान्छ । 

एमालेमात्रै त्यस्तो पार्टी हो, हामी कुनै अप्राकृतिक गठबन्धन बिना एक्लै जनताको बीचमा टेस्टेड हुन चाहन्छौं । परीक्षा दिन चाहन्छौं । अरु पार्टीमा एक्लै जाँदा हारिन्छ, एमालेले रित्तो बनाउँछ । गठबन्धन बिना सम्भव छैन भन्ने छ । कांग्रेस, माओवादी लगायत अन्य पार्टीमा आँट र दम छैन । जनतामा एमालेप्रति अगाध माया छ, स्नेह छ । यसअघि जिल्लाको दुई वटा गाउँपालिकामा सफलता प्राप्त भएन । त्यतिबेला रणनीतिक योजना निर्माणमा केही समस्या भयो । यो पटक नेकपा एमाले विशेष योजनाका साथ निर्वाचनमा जान्छौं । त्यसैले हामी जित्छौं । हामी अघिल्लो पाँच वर्षे कार्यकालको समिक्षा सहित समृद्ध दोलखा बनाउने स्पष्ट खाकासहितको घोषणापत्र ल्याउँछौँ । 
मतदाताले एजेन्डालाई हेरेर भोट हाल्लान् त ? अरु कुराले प्रभाव पार्छ भनिन्छ ?
एमाले विचार एजेण्डा बुझाएर मत माग्ने पार्टी हो । अन्य पार्टीसँग एजेण्डा छैन । हामी दोलखा निर्माणको खाका ल्याउँछौं । त्यसलाई कार्यान्वयन गर्छौँ । सुखी नेपाली, समृद्ध नेपाल अन्तर्गत दोलखा कस्तो निर्माण गर्ने भन्ने कार्यक्रम ल्याउँछौँ । दोलखालाई आत्मानिर्भर, दोलखालाई प्रांगारिक जिल्लाको रुपमा घोषणा गर्नेगरी, युवा स्वरोजगारलाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार निर्माणलाई विशेष ध्यान दिईनेछ । 
अर्को कुरा जिल्लाका ७४ वडामा नेतृत्व गर्ने हाम्रा वडा अध्यक्षहरु, गाउँ तथा नगर अध्यक्षहरु लामो समयदेखि आन्दोलनबाट खारिएको, जनताको मनमस्तिष्कमा स्थापित, विकासको नेतृत्व गर्नसक्ने नेताहरुको पंक्ति एमालेसँग छ । त्यस्ता नेतालाई हामी अघि सार्छौँ । अरु राजनीतिक दलमा एजेण्डा त छैन नै । चरम अन्तरकलहपनि छ । बिधिविधान केही छैन । तर एमाले एकताबद्ध पार्टीको रुपमा स्थापित भैसकेको छ । एकमना एकताका साथ एमाले चुनावमा होमिन्छ, होमिएको छ । त्यसैले हामी दोलखाका ७४ वटै वडा र ९ वटै स्थानीय तहमा एकछत्र जित्ने हाम्रो तयारी छ । 

भनेपछि पाँच दलीय गठबन्धनको चुनौतीलाई समना गर्न दोलखा एमाले तयार छ ? 

हो, गठबन्धनको जस्तोसुकै चुनौतीलाई सामना गर्नेगरी दोलखा एमाले अघि बढ्छ । कहीकसैसँग हामी कम्प्रोमाईज गर्दैनौं । ७४ वटै वडामा एमालेले एकल उम्मेदवार अघि सार्छ । गठबन्धनको नाममा जनताको मतको दुरुपयोग गर्ने, रुखले हँसिया हथौडा र हसियाँ हथौडाका मतदाताले रुखमा भोट हाल्नुपर्ने लज्जास्पद अभ्यास हामी गर्दैनौं । 

त्यत्रो शक्ति एमालेसँग छ र भन्या ?
एमालेबाट एस पार्टीमा गएका धेरै नेता कार्यकर्ता एमालेमा फर्किसक्नुभएको छ । अझै फर्किने तयारीमा हुनुहुन्छ । माओवादी केन्द्रका माथिल्ला तहदेखि तल्लोतहका कयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम तिब्र छ । ठुलो संख्या नेपाली कांग्रेसबाट एमालेमा समाहित हुँदैछन् । एमाले अहिले आकर्षणको केन्द्र बनेको छ । त्यसकारण एमाले अहिले ७४ को भन्दा थप सुदृढ र शक्तिशाली भएर आएको छ । त्यो निर्वाचन जित्ने प्रष्ट आधार हो । 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update