काठमाडौँ — कोरोना भाईरस (कोभिड १९) का कारण रोकिएको एसईई आगामी बैशाखमा संचालन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुले एसईई परीक्षा आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने बताएका छन् ।
एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । लकडाउन खुले लगत्तै परीक्षा संचालन प्रक्रिया अघि बढाउने तयारी भैरहेको उनले बताए ।
कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा स्थगित भएको थियो । त्यसैगरी बोर्डको निर्धारित तालिका अनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ र बैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा हुने तय गरिएको छ ।
यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार कक्षा १२ को सबै प्रश्नपत्र छापिईसकेको छ । कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन् । जसका लागि १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन् ।