Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यस्तो देखियो गौरीशंकरमा एमालेको कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम (फोटोफिचर)

गौरीशंकर-नेकपा एमालेले जिल्लाको गौरीशंकर गाउँपालिकाबाट पार्टी प्रवेशको अभियान सुरु गरेको छ । पार्टीको घोषित अभियान अन्तर्गत एमाले दोलखाले माओवादी केन्द्रका प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहितको टिम नेकपा एमालेमा प्रवेश गरेको हो ।

लामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी र नेपाली कांग्रेसको गठबन्धन उम्मेदवार बनेर चुनाव लडेका थिए । उनले ३४४० मत ल्याएका थिए । उक्त निर्वाचनमा एमालेका सोयम  बहादुर खड्काले ४२४९ मत ल्याएर विजयी भएका थिए ।

उनी माओवादी केन्द्रको जिल्ला कार्यालय टिम मध्येका एक जना नेता हुन् । गौरीशंकर गाउँपालिकामा आयोजित पार्टी प्रवेश तथा पुष्पलाल स्मृति भवन उद्घाटन समारोहमा लामासहित माओवादीका दोलखा जिल्ला सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं वाग्मती प्रदेश कमिटीका उपाध्यक्ष मिङ्गुर शेर्पा, गौरीशंकर गाउँपालिका कमिटी उपसचिव अशोक तामाङ, माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि छिरिङडोमा शेर्पा सहित माओवादी र कांग्रेसका दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरे ।

उनीहरुलाई एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले पार्टीमा स्वागत गरेका थिए । एमाले प्रवेश गर्दै लामाले माओवादीमा विधि पद्दति सकिँदै गएको र कांग्रेसको भर परेर चुनाव लड्नुपर्ने अवस्था रहेको भन्दै आफू बिनाशर्त एमालेमा समाहित भएको बताए । 

यसैबीच गौरीशंकर गाउँपालिकामा नवनिर्मित पुष्पलाल स्मृति भवनको उद्घाटन गरिएको छ । सांसद विकास कोष र व्यक्तिगत सहयोग जुटाएर निर्माण गरिएको भवनको पुर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उद्घाटन गरे । 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update