चरिकोट–काठमाण्डौंबाट हराएका मोटरसाईकलहरु धमाधम दोलखामा फेला पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाले बरामद गरेको १० वटा मोटरसाईकल मध्ये ३ वटा काठमाण्डौंबाट हराएको पत्ता लागेको छ ।
काठमाण्डौं चावेल गोपिकृष्ण नजिकैबाट हराएको रिन्छेन शेर्पा, पेप्सीकोलाबाट हराएको रविन क्षेत्री र बत्तिसपुतलीबाट हराएको प्रज्वल परियारको बाईक पहिचान गरिएको दोलखा प्रहरीले जनाएको छ । पहिचान भएका सवारी धनीहरुसँग सम्पर्क गर्ने प्रयास भैरहेको र अन्य सवारी साधनहरुको वास्तविक धनीको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक अञ्जन कोईरालाले जानकारी दिए ।
ती मोटरसाईकल चलाउने व्यक्तीको साथमा कागजात नभेटिएपनि प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार विगत एक महिनाको अवधिमा जिल्लाका बिभिन्न स्थानमा अप्रेसन क्याट अन्तर्गत गरिएको चेकजाँचका क्रममा अबैध रुपमा चलाईएका १० मोटरसाईकल बरामद गरिएको हो । प्रहरीले काठमाण्डौंदेखि दोलखासम्म वाईक ल्याईपुर्याई अवैध रुपमा चलाउने व्यक्तिहरुबारे भने केही जानकारी गराएको छैन ।
यसैबिच प्रहरी चौकी खरिढुंगाबाट खटिई गएको प्रहरी गस्ती टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ९ आहालडाँडा स्थित एक्लेपाखा जंगलको ओडारमा लुकार्यछिपाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बरामद गरिएको हो ।