काठमाडौँ - सरकारले निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोग त्यसको तयारीमा जुटेको छ । आयोगले तोकिएको समयमा एकै चरणमा ७ सय ५३ स्थानीय तहमा निर्वाचन गराउन तयारी थालेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले २०७९ वैशाख ३० मा मिति घोषणा गरेको थियो ।
मतदाता नामावली अद्यावधिक, निर्वाचन सामग्री खरिद, जनशक्ति व्यवस्थापन, मतदान केन्द्र निर्धारण र कार्यालय स्थापना लगायतका विषयलाई तालिका बनाएर कार्यान्वयनको तयारी सुरु भएको आयोगले जनाएको छ । मुलुक संघीय संरचनामा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।
यसअघि २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । निर्वाचन मिति टुंगो लागेसँगै आयोगले ७७ जिल्ला प्रशासन, निर्वाचन कार्यालय र ७३ इलाका प्रशासनबाट गर्दै आएको मतदाता नामावली संकलन मंगलबारदेखि रोकेको छ । निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन ।
आयोगका अधिकारीहरुले समय अपुग हुने भएकाले निर्वाचनको कतिपय प्रक्रिया ‘फास्ट ट्र्याक’ बाट पूरा गर्न निर्देशिका परिवर्तन गरिने जनाएका छन् । कानुनले निर्वाचन गराउन तोकेको १ सय २० दिनभन्दा कम समय बाँकी भएकाले तालिका बनाएर दिनरात खट्नुपर्ने अवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।