काठमाडौं - किरात समुदायले आज उधौली पर्व (भुमेपूजा) हर्षोल्लासपुर्वक मनाउँदैछन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा रहेको छ । किरात समुदायका राई, लिम्बू, थामी, सुनुवार र याक्खाले यो पर्व मनाउने गर्दछन् ।
थामी समुदायको उद्गम स्थल दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित सुस्पाक्षमावतीको राङराङथलीमा विशेष कार्यक्रम हुँदैछ । दोलखाका अन्य स्थानका भूमेथानहरुमा पनि गएरातीदेखिनै भव्य मेला लागिरहेको छ । विगु गाउँपालिका वडा नम्बर ६ आलाम्पु स्थित भुमेथानमा शनिवारदेखिनै मेला लागिरहेको भुमे संरक्षण समितिका अध्यक्ष प्ररतमान थामीले जानकारी दिए । साँस्कृतिक झाँकी, मारुनी नाचसहित धुमधामका साथ भुमेपुजा गरिएको छ । सो अवसरमा २५ हजार रुपैयाँ गुठी समेत संकलन भएको छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको परम्परागत मान्यता छ । पूजापछि राईहरु साकेला नाच्ने गर्दछन् । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ ।
नेवार समुदायमा योमरी पुन्हि
उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
मार्गशीर्ष शुक्ल अर्थात् मंसिरको पूर्णिमा । यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ । धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ ।
यसैगरी आजै धान्यपूर्णिमा पनि मनाईदैछ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ । विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ । गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ । कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ ।