काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकोमा देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गरे ।
सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । निर्वाचन समितिका अनुसार ३५ मत भने बदर भएको छ । यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले वहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र शेखरबीच प्रतिस्पर्धा भएको हो ।
२०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणको मतदानबाट सभापतिमा निर्वाचित भएका थिए । यो पटक आफूसँग प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका थिए ।