चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकामा आयोजित उपाध्यक्ष कप खुल्ला महिला जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकाकै खेलाडीहरुको समुहले सुरक्षित गरेको छ । शनिवार सम्पन्न फाईनल खेलमा जिरी नगरपालिकालाई पराजित गर्दै कालिञ्चोक गाउँपलिका उपाधि जित्न सफल भएको हो ।
उपाधि हात पार्ने टोलीले ५० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कालिञ्चोकसँग पराजयसँगै जिरी नगरपालिकाले द्धित्तीय स्थानमै चित्त बुझाएको छ । प्रतियोगितामा विगु गाउँपालिका तृतीय र कालिञ्चोक गाउँपालिका स्थित कालिका मावि सान्त्वना भएका छन् ।
प्रतियोगितामा द्धितीय हुने टोलीले ३० हजार र तृतीय हुने टोलीले १५ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पाएका छन् भने सान्त्वना हुने टोलीले १५ हजार नगदसहित प्रमाणपत्र पाएको छ ।
यसैगरी प्रतियोगिताको बेस्ट प्लेयर बन्दना बस्नेत, वेष्ट लिफ्टर कल्पना कार्की, वेष्ट स्पाईकर सुजता कार्की, वेष्ट डिफेन्डर विमली सुनुवार र वेष्ट सर्वर सुस्मिता नेपाली घोषित भएका छन् । विजेता टोली र खेलाडीहरुलाई गाउँपालिका उपाध्यक्ष कालिका पाठक लगायतका अतिथिहरुले समापन समारोहकाबीच नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरे ।
जिल्लाका ८ वटा टोली सहभागि कार्यक्रमको पुर्वमन्त्री एवं नेकपा एमाले केन्द्रीय महासचिव पद्मा अर्यालले उद्घाटन गरेकी थिईन् ।