चरिकोट – दोलखा सदरमुकाम चरिकोटमा आईतवारदेखि तीन दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाले तालिमको आयोजना गरेको हो । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा तीन दर्जन प्रशिक्षार्थीहरुको सहभागिता छ ।
फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले जिल्लामा व्यवसायिक पत्रकारिताका लागि तालिमले सहयोग पुर्याउने विस्वास व्यक्त गरिन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्केले पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि क्षमता विकासका कार्यक्रम बढाउनुपर्ने आवश्यकता औल्याए ।
यसैगरी भीमेश्वर नगरपालिका ६ का अध्यक्ष नविन लामा, पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जीवन लामा, थामी समाज केन्द्रीय महासचिव लक्ष्मण थामी, पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रीजन कुमार घिमिरे लगायतले व्यवसायिक पत्रकारिताका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । तालिममा सहभागिहरुलाई बरिष्ठ पत्रकार अमरध्वज लामा र दोलखाका अग्रज पत्रकारहरुले प्रशिक्षण दिनेछन् ।