चरिकोट – दोलखाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने सुनखानी–साङ्वा सडक कालोपत्रेका लागि वोलपत्र आव्हान भएको छ । सिन्धुपाल्चोक स्थित भौतिक पुर्वाधार विकास कार्यालयलले सडकको डिजिटल सर्वेक्षणपछि बुधवार वहुवर्षीय ठेक्का लगाउनेगरी वोलपत्र आव्हान गरेको हो ।
१५ किलोमिटर सडक कालोपत्रेका लागि स्टिमेट तयार पारी वोलपत्र आव्हान गरिएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर रविन खातीले जानकारी दिए । उनका अनुसार टेण्डर मुल्यांकन र सम्झौतापछि सम्भवतः आउँदो फागुनबाट सडक कालोपत्रे सुरु गर्ने तयारी छ । कालिञ्चोक गाउँपालिकाले उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको छ । वाग्मती प्रदेश सरकारले संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीमा कालिञ्चोक गाउँपालिका हुँदै विगु गाउँपालिका पुग्ने मुख्य प्रवेशमार्ग कालोपत्रे गर्न लागेको हो ।
गाउँपालिका अध्यक्ष विनकुमार थामीले सडक कालोपत्रेका लागि बजेट छट्याउन स्वर्गीय प्रदेशसभा सांसद पशुपति चौलागाई लगायतको सहयोगले सम्भव भएको बताए ।
सडक स्तरोन्नतीका लागि पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्ष २१ करोड ४४ लाख रुपैयाँ अख्तियारी पाएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत पहिलो चरणमा लेप्टुङको दूधपोखरी पहिरोदेखि कालोपत्रेको काम सुरु गरिने जनाईएको छ ।
१५ किलोमिटर सडक कालोपत्रेका लागि समपुरक अनुदान अन्तर्गत ५१ करोड ८८ लाखको सिलिङ तोकिएको छ । सम्झौताको दुई वर्षभित्र ठेकेदार कम्पनीले सडक कालोपत्रेसँगै पुल, कल्र्भट, नाला, वाल लगायतका संरचनापनि निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।
सुनखानीदेखि साङ्बासम्मको करिब ४० किलोमिटर सडकमध्ये ३० किलोमिटर सडकको डिपीआर भएको छ । जस अन्तर्गत पहिलो चरणमा १५ किरोमिटर सडक स्तरोन्नती हुने भएको हो । गाउँपालिकाले आफ्नै बजेटबाट गएको आर्थिक वर्ष सुनखानीको भदौरेदेखि लेप्टुङको सुँगुरेसम्म ४ किलोमिटर सडकखण्ड कालोपत्रे गरिसकेको छ ।
यसअघि एसियाली विकास बैंकको सहयोगमा उक्त सडक खण्ड स्तरोन्नतिसहित चौडा गरिएको थियो । सोरुङ खोलादेखि साङ्बासम्मको झन्डै १० किलोमिटर सडकको डिपिआर गर्न बाँकी छ ।