काठमाडौँ - नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पनि ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेका हुन् । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए । मन्त्रालयका अनुसार दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् । गम्भीर लक्षण भने नदेखिएको अधिकारीहरुको भनाई छ ।
ती व्यक्ति गत मंसिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका हुन् । ती व्यक्ति र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा मंसिर ७ गते कोरोना पुष्टि भएको थियो । उनीहरूबाट संकलन गरिएको नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा आइतबार ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।