काठमाण्डौं - गुण्डागर्दी गर्दै रकम असुल गरेको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी अपराध महाशाखाबाट खटि गएको प्रहरीको विशेष टोलीले उनीहरुलाई काठमाण्डौंका मित्रपार्कबाट पक्राउ गरेको हो । उनीहरु काठमाण्डौको पानीपोखरी स्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई धम्की दिई रकम असुलेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ५, माटी घर भई हाल वालुवाटार बस्दै आएका ३५ वर्षिय रबिन्द्र बस्नेत र काठमाण्डौ महानगरपालिका ७, गगाँहिटीका ४० वर्षिय मिलन जोशी रहेका छन् । प्रहरीका अनुसार उनीहरुलाई यस एरियाका दादा हौं भन्दै मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति पच्चीस हजार रुपैयाँका दरले कमिसन दिनुपर्ने र नदिए मेनपावर चल्न नदिने भनी धम्कि दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
मेनपावर संचालकहरुले हालसम्म उनीहरुले नब्बे लाख पच्चीस हजार रुपैयाँ लिईसकेको प्रमाण पनि प्रहरीलाई बुझाएका छन् । पछिल्लो समय उनीहमरुले कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालकसँग माग गरेको र मेनपावर संचालक र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गरेकोमा सञ्चालकले रकम दिन सक्दिन भन्दा हातपात समेत गरेको उजुरीमा उल्लेख छ ।
पक्राउ परेको दुबै जनालाई आवश्यक कारबाहीको लागि “आपराधिक लाभ लिएको कसुर गरेको मुद्दामा महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको छ । उनीहरुमाथि अन्य मेनपावर व्यसायीहरुसँग समेत रकम असुल गरेको भन्ने सुचनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।