काठमाडौं - दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ स्थित हिमचुली सहकारीका सुरक्षा गार्डको हत्या गरी पैसा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई राजधानी काठमाण्डौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षिय विक्रम कार्की र सोही स्थानका २० वर्षिय सुमन कार्की रहेका छन् । बिक्रम तीनकुने र सुमन चुच्चेपाटीबाट बिहिवार पक्राउ परेका हुन् । गत कात्तिक १० गते गौरीशंकर गाउँपालिकाको जुगुमा रहेको हिमचुली बहुउद्देस्यीय सहकारी संस्थाका सुरक्षा गार्ड ६७ वर्षिय पूर्णबहादुर खड्काको हत्या गरी सहकारीबाट एक लाख ८५ हजार नगद लटपाट भएको थियो । खड्काको शव सहकारीको कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा रहेको चिहानडााडा स्थित जंगलमा फेला परेको थियो ।
सोही घट्नामा संलग्न भएको अभियोगमा उनीहरुलाई प्रहरीले एक महिनापछि पक्राउ गरेको हो । सुरक्षा गार्ड खड्कालाई डोरीले पछाडी हात बाँधेर विभत्स रूपमा हत्या गरिएको थियो । प्रारम्भिक वयानका क्रममा उनीहरुले घट्नामा आफुहरु संलग्न रहेको स्वीकार गरेको सिआईबीले जनाएको छ ।
उनीहरुको साथबाट सिआईबी टोलीले एक लाख ३८ हजार २ सय ३५ रुपैयाँ रकम बरामद गरेको छ । सहकारीबाट एक लाख ८५ हजार रुपैयाँ नगद लुटिएको थियो । सिआईबीका अनुसार दोलखा पठाई उनीहरुमाथि बिस्तृत अनुसन्धान अघि बढाईनेछ ।
घट्नाको अनुसन्धानमा सीआईबी र जिल्लाको विशेष टोली परिचालन गरिएको थियो । घटनापछि उक्त टोलीले पटक पटक घट्नास्थल गई लगातार अनुसन्धानपछि अभियुक्तहरु पत्ता लगाएको हो ।
प्रहरीका अनुसार घट्ना पुर्व योजना अनुसार भएको देखिनछ । उनीहरु गत कात्तिक १० गते राती नै काठमाण्डौंबाट सार्वजनिक यातायातमा गाउँ गएका थिए । सोही राती सुरक्षा गार्डको हत्या गरी सहकारीको नगद लुटपाट गरिएको हो । सहकारीको कार्यालयमा पुगेका सुमनले सुरक्षागार्डलाई काठमाण्डौंबाट आएको साथी बेहोस भएर ढलेको भन्दै जान आग्रह गरेका थिए । उनको आग्रह मानेर खड्का करिव ४ सय मिटरको दुरीमा रहेको जंगलमा पुगे ।
त्यसपछि लुकेर बसेका बिक्रम समेतले हातखुट्टा बाँधी, मुखमा पट्टी बाँधेर टाउँकोमा ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । घट्ना घटाएर उनीहरु ३ घन्टा पैदल हिँडेर सदरमुकाम चरिकोट आएको र भोलीपल्ट काठमाण्डौं फर्किएको पाईएको छ । काठमाण्डौंमा बस्दै आएका बिक्रम प्लम्बरको काम गर्छन् भने सुमन अध्ययन गर्ने गर्छन् ।