काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहमा पनि मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट मतदाता नामावली सङ्कलन सुरु गर्ने आयोगले जनाएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भैरहेको थियो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने जानकारी दिए । इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली सङ्कलन हुने उनले बताए ।
आयोग अधिकारीहरुका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिनेछ ।
१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकाहरुको विवरण संकलन गर्ने गरिएको छ । मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुनेछ । आयोगले मंसिर १७ गतेदेखि सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लाका नागरिकको पनि विवरण संकलन गर्ने आयोगको तयारी छ ।