चरिकोट - दोलखाका स्थानीय तहहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणम हालसम्म गरेको खर्चको बिवरण सार्वजानिक भएको छ । जिल्ला स्थित एक संस्थाले संकलन गरेको बिवरण अनुसार एक वर्षको अवधिमा जिल्लाका ९ वटा स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा साँढे चार करोड भन्दा बढी खर्च गरेका छन् ।
मानवअधिकार सचेतन विकास केन्द्र हुराडेकले जिल्लाका स्थानीय तहहरुले गत आर्थिक वर्ष २०७७/०७८ मा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ४ करोड ५१ लाख ४२ हजार १ सय ८८ रुपैयाँ खर्च गरेको जनाएको छ । जसअनुसार सबैभन्दा बढि भीमेश्वर नगरपालिकाले एक करोड ३५ लाख ४९ हजार २ सय ९० रुपैया खर्च गरेको पाईएको छ ।
क्वारेन्टाईन आईसोलेशन व्यवस्थापन, पिसिआर ल्याव व्यवस्थापन, स्वास्थ्य सामाग्री खरिद, जोखिम भत्ता कर्मचारी, राहत, अस्थायी कोरोना अस्पताल लगाएतका शिर्षकमा उक्त खर्च भएको जनाईएको छ । गौरीशंकर गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा सबैभन्दा कम २३ लाख ३ हजार ४ सय ४९ रुपैयाँ खर्च गरेको छ ।
यसैगरी जिरी नगरपालिकाले २४ लाख ७२ हजार एक सय, मेलुङ गाउँपालिकाले ४१ लाख ४४ हजार ५ सय ३६, कालिञ्चोक गाउँपालिकाले ३६ लाख ११ हजार ९ सय ९, तामाकोसी गाउँपालिकाले ४५ लाख ७ हजार ४ सय ५१ रुपैयाँ खर्च गरेको छ । यस्तै वैतेश्वर गाउँपालिकाले ३८ लाख ९ हजार ३ सय ४५, विगु गाउँपालिकाले ४३ लाख १० हजार ६ सय ५५ र शैलुङ गाउँपालिकाले ६४ लाख ३३ हजार ४ सय ५३ रुपैँया खर्च गरेको हुराडेकले जनाएको छ ।
उक्त संस्थाले जनाए अनुसार प्रदेश सरकारको सहयोग र आफ्नै कोषबाट लगानी गरी कोरोना अस्पताल व्यवस्थापन, कर्मचारी खर्च, एम्बुलेन्स भाडा, मास्क खरिद, जोखिम भत्ता, औषधि खरिद, होम आइसोलशन व्यवस्थापन, भिटामिन खरिद, कोरोना सम्बन्धि जानकारी लगाएतका शिर्षकमा उक्त रकम खर्च भएको छ ।