काठमाडौं - चीन संसारकै सबैभन्दा धनी मुलुक बनेको छ । महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी मुलुक बनेको हो । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीले हालै सार्वजनिक गरेको रिपोर्टले चीनलाई सबैभन्दा धनी मुलुक देखाएको छ ।
पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको रिपोर्टमा उल्लेख छ । विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स शीट) को जाँचपछि तयार पारिएको उक्त रिपोर्टमा २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ ।
दुई दशकमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको हो । रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर रहेकोमा २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । जसमा एक तिहाई हिस्सा चीनको रहेको छ ।
सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर रहेको अनुमान गरिएको छ ।
सम्पत्ति (प्रोपर्टी) को मूल्यमा ज्यादा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको रिपोर्टमा उल्लेख छ ।