चरिकोट – दोलखाका प्रत्येक स्थानीय तहमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा भएका प्रगतिबारे जिल्ला समन्वय समितिले स्थलगत अनुगमन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकमा विकास निर्माणका योजना लगायत अन्य गतिविधिहरुमा भएका प्रगतिबारे जिससले अनुगमन गरेको हो । जिसस प्रमुख डवल पाण्डे, निमित्त जिल्ला समन्वय अधिकारी गिता घिमिरे जिससका अन्य पदाधिकारी तथा सदस्यहरुको टोलीले जिल्ला स्थित ९ वटै स्थानीय तह पुगेर अनुगमनलाई तिब्रता दिएको हो ।
अनुगमन टोलीले स्थानीय तहको चालु/पुँजीगत खर्च, आन्तरिक आय, प्रोफाईल, आवधिक योजना, ऐन, नियम, नीति, निर्देशिका निर्माण, उपभोक्ता समितिको संख्या, सम्झौताको अवस्था, वोलपत्र मार्फत कार्यान्वयन गरिने योजनाबारे जानकारी लिएको छ । यसैगरी प्रदेश सरकारबाट संचालित योजना, प्राकृतिक विपत व्यवस्थापन पुर्व तयारी, पालिका केन्द्रबारे जनताको गुनासो, शिक्षा, स्वास्थ्यको गुणस्तर र सेवाग्राहीको पहुँचको वस्तुगत अवस्थाबारेपनि जिससले जानकारी लिएको छ ।
जिसस प्रमुख पाण्डेले स्थानीय तहमा पारदर्शीता र सुशासन सुदृढ गर्न अनुगमन कार्यलाई प्रभावकारी बनाईएको बताए । ‘अनुगमन स्थानीय सरकारलाई वलियो र सुदृढ बनाउँदै सुशासन कायम गर्ने अभ्यास हो, प्रमुख पाण्डले भने, ‘अनुगमनपछि प्रतिवेदन तयार गरी माथिल्लो निकाय र सम्बन्धित स्थानीय तहमा पठाउँछौं ।’
अनुगमनका लागि क्रममा कतिपय स्थानीय तहमा समयमै योजना सम्झौता कार्य नभएको, केन्द्रबारे निर्णय नहुँदा र विषयगत कार्यालयहरुको सेवा एकै स्थाबाट प्रवाह नहुँदा सेवाग्राहीले समस्या झेल्नुपरेको, प्रदेशका योजनाहरुबारे स्थानीय तहसँग समन्वयको अभाव रहेको पाईएको छ ।
जिसस टोलीले मंगलवार मेलुङ र तामाकोसी गाउँपालिकामा अनुगमन सम्पन्न गरेको छ । त्यसक्रममा मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले चालु आर्थिक वर्ष ३९१ वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन हुनेमा २० वटा सम्झौता भएको जानकारी दिए ।
उनका अनुसार ६ वटा योजना वोलपत्र र १ वटा ईविड प्रक्रियाबाट कार्यान्वयन हुनेछ । पुष मसान्त भित्रै सबै योजनाहरुको सम्झौता सम्पन्न गरी कार्यान्वयनलाई तिब्रता दिईने उनले बताए । मेलुङमा हालसम्म ११ वटा ऐन, २१ वटा कार्यविधि र १ वटा निर्देशिका बनेको छ ।
गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठले समग्र क्षेत्रमा गाउँपालिकाले महत्वपुर्ण उपलब्धी हाँसिल गरेको भन्दै पहिलो कार्यकालमा समृद्धिको जग बसालिएको बताए ।
यस्तै तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेश मिश्रका अनुसार चालु आवमा करिव ५ सय योजना कार्यान्वयन हुनेमा हालसम्म २२ वटा योजना सम्झौता सम्पन्न भएका छन् । ८ वटा योजना वोलपत्र मार्फत कार्यान्वयन हुनेछ । गाउँपालिकाको कार्यसम्पादन र सेवा प्रवाहमा जनताको खासै गुनासो नरहेको उपप्रमुख उर्मिला खड्का (केसी) को भनाई छ ।