चरिकोट - मूडे/चरिकोट सडकको दुरवस्था बिरुद्ध जनप्रतिनिधि पनि आन्दोलनमा उत्रिएका छन् । सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाही बिरुद्ध नागरिक समाजले सुरु गरेको आन्दोलनमा जनप्रतिनिधिले पनि ऐक्यवद्धता जनाएका हुन् । मूडे–चरिकोट सडक निर्माण दवाव संघर्ष समितिको अगुवाईमा जारी आन्दोलनमा समर्थन जनाउँदै भीमेश्वर नगरपालिकाका ५ जना वडा अध्यक्षहरु सोमवार स्थानीय प्रशासनलाई गराईएको ध्यानाकर्षण कार्यक्रममा सहभागि भए ।
नागरिक समाजका चिरञ्जीवी मास्केको संयोजकत्वमा रहेको संघर्ष समितिमा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, वडा नम्बर ७ का वडा अध्यक्ष कैलाश श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष नकुल केसी, वडा नम्बर ९ का वडा अध्यक्ष चित्रबहादुर भुजेल पनि सहभागि भएका हुन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा भएको सर्वदलिय÷सर्वपक्षिय भेलाले राजनीतिक दलका वडा कमिटीका प्रमुख, बिभिन्न संघ संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको समेत प्रतिनिधित्व रहनेगरी ५ सय १ सदस्यीय संघर्ष समिति विस्तार गर्दै दवाव आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको छ ।
उक्त भेलाले आगामी मंसिर ४ गते दोलखाबाट दोलखाका संघर्ष एवं प्रदेश सांसदहरुसंग सडकको दुर्दशाको विषयमा छलफल गर्ने कार्यक्रम तय गरेको छ । यस्तै मंसिर ५ गते वडा तहमा समेत संघर्ष समिति निर्माण गर्ने र मंसिर ६ गते वडा तहमा गठन भएको संघर्ष समितिको समेत सहभागितामा बैठक बसि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
यस अघि संघष समितिले कार्तिक २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुन जंग थापाको फोटो सहितको सरकार‘।।मूडे– चरिकोट सडक कैले बनाउछस् ? हाम्रो विचल्ली कैलेसम्म टुलुटुलु हेर्छस ? लेखिएको पोष्टर सार्वजनिक यातायातका साधनमा टाँसेर विरोध जनाईएको थियो । संघर्ष समितिले भीमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा तालाबन्दी समेत गरेको छ ।
एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा २०७२ सालबाटै सडक स्तरोन्नतीको काम दुई वर्षमा सम्पन्न गर्नेगरी सुरु भएपनि अझै अलपत्र छ । सडकको काम सुरु भएको ६ बर्ष बितिसकेको छ । तर सडकको दुरवस्थाका कारण सर्वसाधरण नागरिकले सास्ती व्यहोर्दै आएका छन् ।