काठमाडौँ – नेपाल रेडक्रस सोसाईटीले विशेष विधान महाधिवेशन तोडफोड गर्दै बिथोल्ने समुहमाथि कानुनी कारबाही गर्न माग गरेको छ । रेडक्रसले घट्नाको न्यायिक छानविन लुटपाट र तोडफोडमा संलग्नहरुलाई कानून बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको हो । सोमवार रेडक्रसका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले एक विज्ञप्ती जारी गर्दै संस्थामा परिवर्तन र सुशासन नचाहने झुण्डको प्रभावमा अन्तराष्टिय मानवीय संस्थामाथि आक्रमण गरिएको जनाएका छन् ।
जारी विज्ञप्ती भनिएको छ, ‘निन्दनीय घट्नाको तत्काल न्यायिक छानविन गरी सत्यतथ्य बाहिर ल्याई सार्वजानिक गरी तोडफोडमा संलगनहरुलाई कानुन बमोजिम कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दर्छौँ ।’ विज्ञप्तीमा घट्नाको छानविनका लागि रेडक्रसका अन्तराष्टिय संयन्त्रहरुको समेत ध्यानाकर्षण गराईएको छ । भ्रष्टाचार र अनियमिततामा संलग्न केही पूर्व केन्द्रीय कार्यसमितिका सदस्य तथा पुर्व जिल्ला सभापतिहरुले लुटपाट र तोडफोड गर्ने नेतृत्व गरेको आरोप लगाईएको छ ।
विधान अधिवेशनमा रेडक्रसको लोगो, व्याच, ज्याकेट, क्याप, लकेट र अन्य सामग्रीहरु लुटपाट भएको थियो । विधान अधिवेशनमा प्रवेश गरेका केही गैरप्रतिनिधिबाट भएको तोडफोड र लुटपाटको घट्ना आपराधिक भएको भन्दै दोषीहरुलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने रेडक्रसका केन्द्रीय सह कोषाध्यक्ष होम पाठकले बताए ।
उनका अनुसार रेडक्रसको विधि र विधान विपरीत काम गरेका, वैधानिक दायित्व पूरा नगरेका, भंग गरिएका समितिका पदाधिकारीहरुबाट उक्त घट्ना घटाईएको हो । आइतबार रेडक्रसले संघीयता अनुकूल हुने गरी विधान संशोधन गर्नका लागि महाधिवेशन गर्न लागेको थियो ।