-सन्दिप पौडेल
डिसेम्बर २०१९ बाट चीन देखि सुरुवाती बताइएको कोभिड-१९ अर्थात् कोरोना भाइरसले पुरै विश्व आक्रान्त बनेको छ। आजको दिन सम्म आईपुग्दा ६०लाख भन्दा बढी मानवीय क्षति बेहोरिसकेको विश्व जगत अझै थप कति क्षति बेहोर्नु पर्ने हो यकिन छैन। हरेक देशले रोकथामको एक मात्रै विकल्प भ्याक्सिन निर्माण लाई तिव्रता दिदै आएको देखिन्छ। तर पनि सोचे अनुरूपको प्रभावकारिता प्राप्त हुन सकिरहेको छैन।
विकसित देशहरु देखि अल्पविकसित मुलुक सम्म यो संक्रमण बाट मुक्त हुन सकिरहेका छैनन्। त्रसित बनाएको यो भाईरसको विषयमा फरक-फरक राष्ट्रले भिन्न भिन्न विचार प्रस्तुत गरेका छन्। लामोसमयसम्म भाइरस निर्मुलीकरण नहुनु, खोपको विश्वसनियता र प्रभावकारीता नदेखिनु साथै दैनिक भाइरसको उत्परिवर्तित रुपहरु बाहिर आउनु, आखिर कारण के हुन सक्छन त? खोप असमानता, विभेदकारी खोप निति, संक्रमितको लापरवाही, संक्रमणकालीन परिस्थितिजन्य कानुन, निति नियम, नियमावली विहिन आदि। विकसित देशहरूले उच्च स्तरिय छानविन समिति गठन गरि संक्रमणको उत्पति स्थलको बारेमा गहन अध्ययन गरे तापनि अहिलेसम्म यसको ठोस प्रमाण प्राप्त भैनसकेको अवस्था छ।
आजका दिनसम्म आइपुग्दा केही रुपमा कम भएको भनिएको भाइरसको संक्रमण पुनः एकपटक दोहोरिने संकेत देखा पर्दै आएका छन्। विकसित र ठूला राष्ट्रहरूमा फेरि संक्रमित तथा मृत्युदर बढदै गइरहेको समाचार आइरहेका छन्। कति राष्ट्रहरूले संक्रमणको जोखिम कम गर्न लकडाउन र निषेधाज्ञा जारी गरेका छन्। अन्तर्राष्ट्रिय उडान ठप्प पारेका छन। जसले गर्दा लामोसमयसम्म बन्द जस्तै रहेको दैनिक कामकाज देखि आर्थिक, राजनितिक, व्यापारीक बजारमा नराम्रो असर पर्ने संकेत सजिलै अनुमान लगाउन सकिन्छ।
प्राकृतिक विपत्ति:- प्रतेक वर्ष मनसुनको आगमन सँगै आउने बाढी, पहिरो,भुक्षयले हाम्रो देश लाई नराम्ररी गाँजेको छ। प्रायः पहाडी क्षेत्रमा असार, साउनको महिना हरेक साल ठुलो जनधनको छति बेहोर्नुपर्ने गरि प्राकृतिक विपत्ति सहनुपर्ने स्थिति रहेको छ। यस वर्ष बेमौसमी वर्षातका कारण मुलुकले ठूलो छति बेहोर्नु पर्यो। बाढी र पहिरो बाट मात्रै अरबौं को नोक्सानी झेल्नुपर्यो। सयौँ नागरिकको अकालमै ज्यान गयो, हजारौं परिवार घरवार विहिन बन्नु पर्यो। मुलुकभरिको जनजिवन कष्टकर बन्यो। कयौं वेपत्ता भए, कति अंग भंग। समग्र कृषि क्षेत्र तहसनहस नै भयोे। पाकेको बाली भित्र्याउने समयमा भएको यस्तो अपुरणीय क्षतिले मुलुकको अर्थतन्त्रमा सिधैं नकरात्मक असर परेको छ। हरेक सिजनमा यस्ता प्रकृतिका घटना झेल्नु हाम्रो नियति नै भइरहेको छ।
सबै लाई जगजाहेर छ, मुलुक मनसुनी वर्षाले अडेको छ। हिमाली र पहाडी क्षेत्रमा जमिन अति भिरालो छ। यहाँको भुबनोट प्राकृतिक विपत्तिको लागि सहयोगी सिद्ध छ। कमजोर भौगोलिक स्थिति छ। जल उत्पन्न प्रकोप वर्षेनी हुने गरेका छन्। बाढी पहिरो मात्र होइन, चटयाङ- भुकम्प र आगलागीका घटनाहरूले मुलुकलाई आक्रान्त पारेको छ। हामी सँग विश्व जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता, सीप र क्षमता छदैं छैन भन्दा फरक नपर्ला। एकातिर वर्षेनि भुक्षय, बाढी पहिरो ले उर्वर माटो बगाएर लगेको छ भने अर्कोतिर जलस्रोतको धनी देश भएर पनि त्यसको सहि उपयोग गर्न सकिएको छैन।
देशका ठूला सहर काकाकुलको अवस्थामा छन् भने हिलो, मैलो, धुवाँ धुलो नेपालीको मौलिकपन बन्न पुगेको छन। नदि धारको परिवर्तन, ठुला नदिहरुले वर्षेनी बस्ती उजाड र खेतियोग्य जमीनको संरक्षण गर्न नसक्दा र समयमा समुचित सिंचाईको प्रयोग गर्न नसकिरहेको अवस्थामा ठूलो मात्रामा अन्न बाली आयात गर्नुपर्ने अवस्था छ। वर्षेनि पुर्वाधारहरु बगाएर ठूलो क्षति बेहोर्नु परेको छ। प्रकोप न्यूनीकरण र समयमै उद्धार कार्यलाई तिव्रता दिन सकिएको छैन। भएका स्रोत साधनको उचित प्रयोग गर्न नसक्दा वर्षेनि ठूलो जनधनको छति राष्ट्रले बेहोरिरहेको छ। सरकारले प्रत्येक वर्ष कृषि योग्य जमिनमा दिगो र भरपर्दो सिंचाईको व्यवस्था पुरयाउने वक्तव्य बाहिर ल्याउने गर्दछ।
साथै सिंचाई आयोजनाहरु लाई तिव्रता दिने प्रतिबद्धता व्यक्त गर्दछ। तर व्यवहारिक कार्यान्वयन पटक्कै भएको छैन। जलस्रोतका बहुउद्देश्यीय आयोजनाहरुका विकासमा ध्यान पुगेको देखिँदैन। खानेपानी, सिंचाई, विधुत, नदि नियन्त्रण र वातावरण प्रवर्धनलाई प्राथमिकता दिनु आजको प्रमुख आवश्यकता हो। साना सिँचाइ, टार सिंचाई, साना मझौला आयोजनाहरु प्रदेश र स्थानीयको लागत सहभागितामा सञ्चालन गर्नु पर्दछ।
उच्च पहाडी क्षेत्रमा ठुला पोखरी निर्माण गरि उच्च प्रविधियुक्त सिंचाई प्रणाली ल्याइनुपर्दछ। नदि उकास, बस्ती विकास र वृक्षारोपण कार्यक्रमलाई प्रमुखताका साथ अगाडी बढाउने कार्य जिम्मेवार जनप्रतिनिधिको कर्तव्य हो। मानव वस्ती, कृषि योग्य जमिन एवं राष्ट्रिय महत्वका स्रोत, साधन र सम्पदाको सम्बर्धन गर्ने प्रण गरिनुपर्दछ। हरित प्रविधिको प्रयोग, नदि नियन्त्रण, बाढी पहिरो व्यवस्थापन, नदि बेसिन विस्तारका कार्यक्रम र अवधारणा ल्याइनु पर्दछ। मौसम र बाढी पुर्वानुमान लाई गुणस्तरिय र विश्वसनीय बनाई जल र मौसम जन्य विपत बाट हुन सक्ने छति लाई नियूनिकरण गर्न हरेक ठाउँमा आधुनिक र स्वचालित जल तथा मौसम मापन उपकरण एवं प्रणालीको जडानमा सरकारसँग माग गर्नु पर्दछ।
जिम्मेवार नागरिकको भुमिका:- "सेवा हि परमो धर्म"!!!
पहिलो/दोस्रो लहरको कोरोना संक्रमण सामना गरिरहेको समयमा संक्रमित व्यक्ति, परिवार माथि छि छि र दुरदुर गर्दै मनोबल गिराउने घृणित कार्य हाम्रो समाजमा यदाकदा सुनिए। संक्रमित व्यक्ति र परिवार लाई अपहेलित गर्ने, उनिहरु माथि घृणित व्यवहार देखाउने र संक्रमित भई मृत्यु वरण गरेका व्यक्ति उपर रुढिबादी मानसिकता प्रदर्शन गर्दै अन्तिम संस्कारमा भाँजो हाल्न खोज्ने घृणित व्यवहार निकै खेदजनक कार्य हो। तपाईं, हामी जस्तो चेतनशील व्यक्ति बाट नै यस किसिमका व्यवहार देखाउनु निकै दुःख दायी ठहर्छ।
समाजमा चेतना जागृत गराउनु अहिलेको सबैभन्दा ठूलो अपरिहार्यता छ। सबै भन्दा पहिले संक्रमण बाट बच्न के गर्ने? संक्रमित भई हालेको खण्डमा के गर्ने, के नगर्ने? संक्रमित व्यक्ति तथा परिवारलाई सहानुभूति दर्शाउँदै उसलाई संक्रमण सँग लड्नको निमित्त थप उर्जा प्रदान गर्न तपाई, हाम्रो भुमिका कस्तो रहनुपर्दछ? यि यावत् कुराहरूमा जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरि समाजमा चेतना अभिवृद्धि गर्ने कार्य तपाई, हाम्रो दायित्व हो।
संक्रमण जो कोहिलाई पनि हुनु सक्दछ। त्यस्तै संक्रमण भई हालेमा आफुलाई सुरक्षित राख्दै संक्रमित व्यक्तिको दैनिकि, पालना गर्नु पर्ने नियम साथै आफु बाट अरुलाई संक्रमण नफैलियोस भन्ने अभिप्रायले व्यक्तिगत सरसफाइ, खानपान, शारीरिक सुचना र बासस्थानको सहि अभ्यास गराएर संक्रमण मत्थर पार्न जिम्मेवारी भुमिका निर्वाह गर्नु पर्दछ। भौतिक दुरि साथै स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै संक्रमित व्यक्तिको दैनिक स्वास्थ्य सुचना लिनु, पौष्टिक आहारविहार मा ध्यान पुर्याउनु साथै उसलाई रोग सँग लड्न थप आत्मवल प्रवाहको निमित्त मोटिभेसनल कार्य गर्न अभिप्रेरित गर्ने गर्नुपर्दछ। त्यस्तै संक्रमित व्यक्तिले दैनिक प्रयोग गर्ने वस्तुहरूको सहि स्थानमा विसर्जन गर्ने गर्नुपर्दछ।
मुख्यतया तपाई, हामीले प्रयोग गर्ने फेस मास्क, सेनिटाइजर, पन्जा जस्ता स्वास्थ्य सामग्रीहरू प्रयोग पश्चात सहि ठाउँमा विसर्जित गरिएको पटक्कै भेटिदैन। यस प्रकारको सामान्य कुरामा कसैको पनि ध्यान पुगेको देखिँदैन। बाटोघाटोमा छरपष्ट फ्याँकिएको हामी प्राय ठाउँमा देखिरहेको छौँ। जुन निकै असभ्य देखिन्छ। जसले गर्दा संक्रमण अझ बढी मात्रामा फैलिन थप टेवा पुगिरहेको भान मिल्दछ। एक व्यक्तिले दोस्रो व्यक्तिलाई र एक समाजले दोस्रो समाजलाई सहि अभ्यास गराएर संक्रमण बाट हुने जोखिम कम गर्ने एक जिम्मेवार नागरिकको भुमिका हो।
साथसाथै भइपरी आउने प्राकृतिक विपत्ति आउनु पुर्वनै आ -आफ्नो क्षेत्र विशेष स्थानिय सरकार बाट प्राकृतिक विपत्तिको कार्ययोजना के छ? यस बारे सुचना, स्रोत साधनको जानकारी, अवस्था र सामना गर्न हामीले के गर्नुपर्ला? त्यस बखत मेरो भुमिका कस्तो रहनुपर्दछ? आफ्नो क्षेत्रको प्रमुख आवश्यकताको पहिचान गर्ने, तिनिहरुलाई प्रथामिकताको आधारमा योजना बनाउने र कार्यन्वयन गर्न सबै स्थानीय जनताहरू अग्रसर बन्नु सकेको खण्डमा केही उपलव्धी पक्कै मिल्नेछ। समयसमयमा यिनै विषयमा छलफल, सुझाव र सल्लाह गर्नु एक जिम्मेवार नागरिकको दायित्व हो। जसको प्रमुख उदेश्य कुनै पनि मानविय क्षति नपरोस् भन्ने रहन्छ।
" तपाई, हामी सबै उत्तिकै जिम्मेवार छौँ"।
सबैले आ-आफ्नो दायित्व निर्वाह गरौँ', सभ्य समाजको परिचय दिऔँ!!!
We all are equally responsible.